Banijya News

ट्रेजरी बिल खरिदमा ८ गुणा बढी माग, डिस्काउन्ट रेट २ प्रतिशतभन्दा तल

1
1.3K Shares

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम प्रशस्त रहेकाले सरकारले जारी गर्ने ट्रेजरी बिल खरिदमा माग असामान्य रूपमा बढेको छ । उच्च मागका कारण प्रतिस्पर्धा तीव्र बनेपछि ट्रेजरी बिलको डिस्काउन्ट रेट समेत लगातार घट्दै गएको छ ।

गत भदौ २३ गते बोलकबोल भएको ९१ दिन अवधिको ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल खरिदका लागि करिब ६३ अर्ब ६० करोड रुपैयाँको आवेदन परेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । यसरी खरिद माग आपूर्तिभन्दा झण्डै ८ गुणाले बढी पुगेको हो । तीव्र प्रतिस्पर्धाका कारण उक्त बिलको औसत डिस्काउन्ट रेट १.९९ प्रतिशत कायम भएको थियो ।

यसअघि पनि सबै प्रकारका ट्रेजरी बिलको डिस्काउन्ट रेट ३ प्रतिशतभन्दा तल झरेको कार्यालयले जनाएको छ । हालैको प्रतिस्पर्धामा भने दर २ प्रतिशतभन्दा तल कायम भएको छ, जुन पछिल्ला वर्षहरूकै न्यून दर मानिएको छ ।

यसै क्रममा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले असोज ५ गते सोमबार साढे १९ अर्ब ४९ करोड २० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरणका लागि बोलकबोल गर्ने तयारी गरेको छ । सो क्रममा २८ दिन अवधिको ५ अर्ब तथा ९१ दिन अवधिको १४ अर्ब ४९ करोड २० लाख रुपैयाँ बराबरको बिल बोलकबोलमार्फत निष्काशन गरिनेछ । अनलाइन माध्यमबाट आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म आवेदन दिन सकिने र असोज ७ गते मंगलबार बिल निष्काशन हुने जनाइएको छ ।

बैंक तथा वित्तीय संस्थामा प्रशस्त तरलता रहे पनि अन्य क्षेत्रमा लगानी विस्तार हुन नसकेकाले संस्थाहरू सरकारी ऋणपत्रमै आकर्षित भएको विश्लेषकहरू बताउँछन् । यसले अल्पकालीन ब्याजदर समेत घट्दै गएको छ ।

1

Scroll to Top