Banijya News

दूधकोशी जलविद्युत् आयोजनामा बैंकहरूले १० अर्ब ५० करोड लगानी गर्ने

1
1.2K Shares

भारतीय कम्पनीको स्वामित्वबाट नेपाली प्रवर्द्धक समूहको हातमा आएको दूधकोशी–२ (जलेश्वर) जलविद्युत् आयोजना अब वित्तीय व्यवस्थापनसहित निर्माणतर्फ अघि बढ्ने भएको छ।

७० मेगावाट क्षमताको यो आयोजना निर्माणका लागि लक्ष्मी सन्‌राइज बैंक लिमिटेडको अगुवाइ, एभरेष्ट बैंक लिमिटेडको सहअगुवाइ र सानिमा बैंक लिमिटेडसहितको बैंक समूहले कुल १० अर्ब ५० करोड रुपैयाँ ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। आइतवार आयोजित कार्यक्रममा यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

आयोजनाको कुल लागत करिब १५ अर्ब रुपैयाँ रहनेछ। सोमध्ये ४ अर्ब ५० करोड रुपैयाँ स्वपूँजी लगानीका रूपमा जुटाइनेछ भने बाँकी रकम बैंकहरूको ऋणमार्फत उपलब्ध गराइनेछ। सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा निर्माण हुन लागिरहेको आयोजना कात्तिक २०८२ देखि प्रारम्भ गरिने तयारी गरिएको छ। चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

छ घण्टा पिकिङ क्षमता हुने यस आयोजनाबाट उत्पादन हुने विद्युत् १३२ केभी टिन्ला सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिनेछ। नेपाल विद्युत् प्राधिकरणसँग यसअघि नै विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ। सम्झौता अनुसार वर्षायाममा प्रतिकिलोवाट घण्टा ४ रुपैयाँ ८० पैसा, हिउँदमा ८ रुपैयाँ ४० पैसा र पिक समयमा ८ रुपैयाँ ५० पैसा देखि १० रुपैयाँ ५५ पैसा सम्मको दरमा विद्युत् बिक्री हुनेछ। पहिलो आठ वर्षका लागि सो दरमा वार्षिक ३ प्रतिशत वृद्धिको प्रावधान राखिएको छ।

भारतीय कम्पनीले रकम जुटाउन नसकेपछि बेचिएको यो आयोजना हाल कदम केसीको अध्यक्षतामा नेपाली प्रवर्द्धक समूहले स्वामित्व लिएको हो। संस्थागत लगानीकर्तामध्ये आयु म्यालुन हाइड्रोपावर, टिम भेन्चर, सारथि इक्विटी फन्डलगायतको सहभागिता रहेको छ। कम्पनीले वित्तीय प्रतिफलका हिसाबले आयोजना आकर्षक हुने दाबी गरेको छ।

1

Scroll to Top