Banijya News

यस वर्ष दशैं लक्षित ६० हजार खसीबोका उपत्यकामा भित्र्याइँदै

1
1.2K Shares

काठमाडौं उपत्यकामा यस वर्षको दशैं बजारलाई लक्षित गर्दै करिब ६० हजार गोटा खसीबोका भित्र्याउने तयारी गरिएको छ । नेपाल व्यवसायिक बाख्रापालक महासंघका अनुसार यो परिमाणको खसीबोकाको मूल्य करिब १ अर्ब ५ करोड रुपैयाँबराबर पर्छ ।

यस वर्ष सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मुख्य सडक खण्ड अवरुद्ध र राजनीतिक अस्थिरता देखाउँदै खसीबोका र च्याङग्रा बिक्री नगर्ने निर्णय गरेपछि बजार आपूर्तिको जिम्मा निजी संघ–संस्थाले लिएका हुन् । विभिन्न जिल्लाबाट संकलन गरिएको खसीबोका हालै मात्र खुलेका बाटो प्रयोग गरेर उपत्यकामा ल्याउन थालिएको छ ।

उपत्यकामा भित्र्याइने खसीबोकामध्ये खरी क्रस, जमुनापारी क्रस, सिरोही क्रस, बेयर क्रस तथा प्योर खरी जात प्रमुख हुने जनाइएको छ । रोल्पा, रुकुम, दैलेख, सिन्धुली, नेपालगञ्ज, मकवानपुर, प्युठान, बर्दिया, ओखलढुंगा, नुवाकोट, रामेछाप, जनकपुर, सर्लाही, सुर्खेत, तनहुँ, चितवन, बारा, पर्सालगायतका जिल्लाबाट खसीबोका ल्याउने व्यवस्था मिलाइएको छ ।

उपत्यकामा आउने खसीबोकाको औसत तौल ३५ देखि ४० किलो हुने र बिक्री मूल्य गत वर्षकै स्तरमा कायम गरिने जनाएको छ । यसअनुसार जिउँदो खसीबोका प्रतिकिलो ७ सय रुपैयाँ पर्छ । दशैं अवधिभर कलंकी, जाउलाखेल, सातदोवाटो, भृकुटीमण्डप, कोटेश्वर, गौशाला, भक्तपुर, लोकन्थली, बालाजु, लगनखेल, धापाखेल, चन्द्रागिरी, चावहिललगायतका स्थानमा खसीबजार सञ्चालन गरिनेछ ।

यससँगै करिब १२ हजार च्याङग्रा पनि उपत्यकामा भित्र्याउने तयारी भएको छ । च्याङग्रा प्रतिकिलो १ हजार २ सय ५० रुपैयाँमा बिक्री हुने जनाएको छ ।

तर बजारमा अवैध आयातका कारण स्वदेशी किसान प्रभावित भएको पाइएको छ । सीमा क्षेत्रका विभिन्न नाकाबाट भन्सार छली खसीबोका भित्र्याइँदा नेपाली खसीबोकाले बजार गुमाउने समस्या देखिएको हो । यसरी आउने खसीबोकामा रोगको जोखिमसमेत रहेको सरोकारवालाको भनाइ छ ।

पशु सेवा विभागका तथ्यांकअनुसार दशैं अवधिमा उपत्यकामा सामान्य समयको तुलनामा आठ गुणा बढी मासु उपभोग हुने गर्छ । साधारण अवस्थामा दैनिक करिब १२ सय गोटा खसीबोका खपत भए पनि दशैंमा सात दिनमै ५० देखि ६० हजार खसीबोकाको कारोबार हुने गर्दछ ।

1

Scroll to Top