जेनजी प्रदर्शनका कारण प्रभावित व्यवसायीलाई मनोबल दिलाउन नेपाल राष्ट्र बैंकले विभिन्न सहुलियत दिने तयारी गरेको छ । कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण, सहुलियतपूर्ण दरमा कर्जा प्रवाह र कम ब्याजमा ऋण उपलब्ध गराउनेजस्ता व्यवस्था अघि बढाइने जनाइएको छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानसम्बन्धी अन्तरक्रियामा प्रस्तुत धारणा अनुसार, आन्दोलनपछि मूल्यवृद्धि लक्षित दायराभन्दा माथि जाने सम्भावना न्यून रहेको र विदेशी मुद्रा सञ्चिति पर्याप्त रहेकाले रेमिट्यान्समा तत्काल असर नपर्ने अनुमान गरिएको छ ।
हाल लगानीयोग्य आठ खर्ब रुपैयाँ भन्दा बढी रकम उपलब्ध रहेको र ब्याजदर सहज अवस्थामा रहेकाले भौतिक संरचनाको पुनर्निर्माणमा सहजता हुने अपेक्षा व्यक्त गरिएको छ । निजी क्षेत्रलाई लगानीमा उत्साहित बनाउन सरकारले अनुकूल वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ ।
राष्ट्र बैंकले निजी क्षेत्रको मनोबल उकास्न तरलता व्यवस्थापन, लगानी प्रतिफल सुनिश्चितता र सहुलियतपूर्ण नीतिहरूलाई प्राथमिकतामा राख्ने जनाएको छ । यससँगै चालु आर्थिक वर्षमा ५.५ देखि ६ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।
यस्तै, कोरोना महामारीपश्चात् आईटी क्षेत्रमा देखिएको सुधारलाई उदाहरण दिँदै अब पनि नयाँ क्षेत्रमा अवसर पहिचान गरेर अघि बढ्नुपर्ने धारणा राखिएको छ । पछिल्लो समय पर्यटन क्षेत्रमा देखिएको सुधारलाई समेत अर्थतन्त्रलाई टेवा पुग्ने संकेतका रूपमा लिइएको छ ।


