वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिँदै मंगलबार काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका व्यवसायिक फर्महरूको अनुगमन गरेको छ। सो क्रममा विभागले तीन फर्मलाई जरिवाना गरेको छ भने दुई फर्मलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ र सोही ऐनको दफा ३९(१)(क) अनुसार कसुर गरेको पाइएपछि जे.पि.ई. मार्केटिङ र बल्का ट्रेड एण्ड इन्टरप्राइजेजलाई २०–२० हजार रुपैयाँका दरले जरिवाना गरिएको विभागले जनाएको छ। यस्तै, ग्यालेक्सी सस्तो फेसनलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
यसैगरी, शिवम् जनरल स्टोर्स र बुढाथोकी ट्रेडिङ प्रालिलाई व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
अनुगमनमा संलग्न टोलीले अन्य २८ वटा फर्मलाई भने सामान्य निर्देशन दिएको विभागको भनाइ छ।
विभागले उपभोक्ता अधिकार संरक्षणलाई दीगो बनाउन “स्वच्छ र प्रतिस्पर्धी बजार” अनिवार्य भएको भन्दै अनुगमनलाई निरन्तरता दिइने स्पष्ट पारेको छ।


