Banijya News

दशैंमा भिड्दैछन् यी तीन नेपाली चलचित्र

1
1.2K Shares

दशैं लक्षित तीन नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । चलचित्रहरू ‘हरिबहादुरको जुत्ता’ , ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आउने भएका हुन् । यी तीनै चलचित्र आगामी दशैंलाई लक्षित गरी फूलपातीको दिन (असोज १३) देखि नेपालसँगै विदेशमा समेत प्रदर्शन हुने जनाइएको छ ।

चलचित्र ‘माइतीघर’ तामाङ संस्कृतिमा आधारित सामाजिक विषयमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । मिलन तामाङले निर्देशन गरेको सो चलचित्रमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपूतलगायतका कलाकारले अभिनय गरेका छन् ।

सोही मितिमा प्रदर्शन हुने अर्को चलचित्र ‘हरिबहादुरको जुत्ता’ अभिनेता हरिवंश आचार्यमा केन्द्रित छ । अभिनेता आचार्यले टेलिशृंखला र रंगमञ्चमा निर्वाह गरेको चर्चित पात्र ‘हरिबहादुर’लाई यसपटक चलचित्रमा ल्याएका हुन् । उनको यही शीर्षकको उपन्याससमेत बजारमा आइसकेको छ ।

चलचित्रमा भिन्न हरिबहादुरसँग दर्शक परिचित हुने अभिनेता आचार्यको भनाइ छ ।

उक्त चलचित्रको पटकथा स्वयम् अभिनेता आचार्यले लेखेका हुन् । निर्देशक दीपेन्द्रकुमार खनाल निर्देशित सो चलचित्रमा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।

यसैगरी निर्माता सन्तोष सेनले निर्देशन गरेको चलचित्र ‘बलिदान’मा अभिनेता समीर भट्टको अभिनय छ । भट्टले अभिनय गरेको यो दोस्रो चलचित्र हो । दक्षिण भारतीय चलचित्रझैं तयार गरिएको यो चलचित्रको कथावस्तु विशेषतः द्वन्द्व प्रधान रहेको जनाइएको छ ।

कथावस्तुभन्दा प्रस्तुतीकरणमा ध्यान दिइएको उक्त चलचित्रमा ऋचा शर्मा, अर्पण थापालगायतका कलाकारले अभिनय गरेका छन् । पछिल्ला वर्षहरूमा चाडपर्वमा नेपाली चलचित्र दर्शकको रोजाइमा पर्दै आएका छन् ।

खासगरी पारिवारिक र सामाजिक विषय केन्द्रित चलचित्रमा दर्शकको बाक्लो उपस्थिति देखिन्छ । सोही कारण यो दशैंमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन् ।

बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुने क्रम बढेको चलचित्र निर्माता तथा नेपाल चलचित्र संघका पूर्वअध्यक्ष प्रदीपकुमार उदयले बताए ।

उनले नेपालमा रहेको ‘मल्टीप्लेक्स’बाहेकका चलचित्र भवनले शो संख्या सुरुवाती समयमा धान्न कठिनाइ देखिए पनि बिस्तारै दर्शकको रोजाइअनुसार शो बाँडफाँड हुने बताए । गत वर्ष दशैंमा प्रदर्शन भएका तीन चलचित्रले ४० करोडको हाराहारीमा व्यापार गरेपछि यो दशैंमा पनि चलचित्रकर्मी हौसिएका छन् ।

1

Scroll to Top