Banijya News

सरकारले गरेको खर्च कटौतीलाई यसरी गरीनेछ कार्यान्वयन !

1
1.2K Shares

सरकारले सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थानका कार्यक्रम र राहतका लागि अनुत्पादक खर्च कटौती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । सरकारले हालै गरेको खर्च कटौती कसरी लागू हुन्छ भन्नेबारे अर्थ मन्त्रालयले तीनै तहका निकायलाई मार्गनिर्देशनसमेत सार्वजनिक गरेको छ ।

पुँजीगततर्फ पूर्व तयारी नपुगेका, दोहोरो प्रविष्टि भएका, एकमुष्ट बजेट राखिएर आयोजना पहिचान नभएका, मन्त्रालयका मूल उद्देश्यभन्दा बाहिर रहेका र प्रदेश तथा स्थानीय तहमार्फत पनि सम्पन्न गर्न सकिने कम महत्वका साना आयोजनाहरू स्थगनमा राखिने छन् । तर २०८२ असोज २ गतेसम्म खरिद सम्झौता भई दायित्व सिर्जना भइसकेका वा खरिद प्रक्रिया अन्तिम चरणमा पुगेका आयोजनाहरूलाई आवश्यक प्रमाणसहित अर्थ मन्त्रालयमा फुकुवाका लागि पठाइएमा छोटो प्रक्रियाबाट फुकुवा गर्ने व्यवस्था अर्थ मन्त्रालयले स्पष्ट पारेको छ ।

यससँगै, क्षति भएको सरकारी संरचना सेवाग्राहीमैत्री र छरितो बनाउन तत्काल कार्यालय सञ्चालनका लागि प्रीफ्याब भवन निर्माण गर्ने र दीर्घकालीन योजनामा समेत सोही अनुरूपका डिजाइन गर्ने निर्णय गरिएको छ । १० लाख रुपैयाँभन्दा बढीका आयोजना उपभोक्ता समितिबाट कार्यान्वयन नगरिने र आयोजना टुक्र्याएर उपभोक्ता समितिबाट काम गराउन नपाइने व्यवस्था गरिनेछ । यसलाई कार्यालय तथा आयोजना प्रमुखले इमान्दारीपूर्वक प्रतिस्पर्धात्मक विधिबाट खरिद गरी अघि बढाउनु पर्ने र आन्तरिक लेखापरीक्षण तथा अन्तिम लेखापरीक्षणमार्फत निगरानी गर्ने प्रावधानसमेत लागू हुने मन्त्रालयले जनाएको छ ।

कार्यालय प्रमुखले निर्णयलाई इमान्दारीपूर्वक कार्यान्वयनमा लैजाने जिम्मेवारी पाउनेछन् भने सम्बन्धित मन्त्रालयका सचिवहरूले प्रत्यक्ष अनुगमन गर्ने व्यवस्था गरिएको छ । निर्माण कार्यमा कन्टिजेन्सी रकमको सीमा घटाइने निर्णयसमेत चालु खर्च मितव्ययितासँग जोडिएको छ । यसलाई पनि कार्यालय प्रमुखहरूको इमान्दार कार्यान्वयन र मन्त्रालयका सचिवहरूको अनुगमन, निगरानी निकायहरूको परीक्षणमार्फत कार्यान्वयनमा ल्याइनेछ ।

चालु खर्च मितव्ययिताअन्तर्गत कानुन बमोजिम गठन भएका समितिहरू बाहेक नियमित कार्यका लागि बैठक भत्ता उपलब्ध नगराइने व्यवस्था गरिएको छ । यसलाई कार्यालय प्रमुखहरूको इमान्दार कार्यान्वयन, मन्त्रालयका सचिवहरूको अनुगमन र निगरानी निकायको नियमित परीक्षणमार्फत लागू गरिनेछ ।

त्यसैगरी, आफैंले गर्न सक्ने काम कन्सल्टेन्टमार्फत गराउन नपाइने निर्णय गरिएको छ । कार्यालयमा उपलब्ध पुराना सामानहरूको अधिकतम उपयोग गर्ने, जिल्लास्तरीय कार्यालयहरूमा सामान बढी भएको खण्डमा अन्य कार्यालयसँग साझेदारी गर्ने, संगठन संरचना छरितो बनाउन छोटो विधिबाट संक्षिप्त सर्वेक्षण गरी कार्यान्वयनमा ल्याउने योजना अर्थ मन्त्रालयले अघि सारेको छ ।

यसैबीच, भूमि समस्या समाधान आयोग खारेजी गर्ने व्यवस्था मन्त्रिपरिषदकै निर्णयले लागू भइसकेको छ । सो आयोग गठन आदेशकै आधारमा स्थापना भएकाले खारेज भएको हो । त्यस्तै, तीन विभागहरूलाई पूर्ववत् मन्त्रालय अन्तर्गत राख्ने निर्णय कार्य विभाजन नियमावली संशोधनसँगै तुरुन्त कार्यान्वयनमा जाने मन्त्रालयले स्पष्ट गरेको छ ।

ठूला पाँच बाहेक अन्य पदाधिकारीहरूले सल्लाहकार राख्न नपाउने, मन्त्री तथा ठूला पदाधिकारीबाहेक सबै पदाधिकारीको स्वकीय सचिव सुविधा खारेज गर्ने निर्णय पनि लागू गरिएको छ । आगामी निर्वाचन र जेन्जी आन्दोलनको सन्दर्भलाई ध्यान दिँदै पदाधिकारीहरूले सुरक्षित रूपमा स्वकीय सचिव नलिने निर्णय गर्ने अपेक्षा मन्त्रालयले गरेको छ ।

वैदेशिक भ्रमणमा रोक लगाउने निर्णय कार्यान्वयनमा ल्याइनेछ । यसबारे तत्काल प्रदेश र स्थानीय सरकारले समेत निर्णय गर्न उपयुक्त हुने मन्त्रालयको धारणा छ । त्यस्तै, पदाधिकारीहरूले एउटामात्र सवारी साधन प्रयोग गर्ने व्यवस्था गरिनेछ । हाल एकभन्दा बढी सवारी साधन प्रयोग गरिरहेका पदाधिकारीले तत्काल फिर्ता गर्ने र कुनै मन्त्रालय अन्तर्गत रहेका सबै सवारी साधनलाई पुल प्रणालीमार्फत राखी सचिवले पुनर्वितरण गर्ने व्यवस्था गर्ने मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेका यी प्रावधानहरूलाई तीनै तहका जिम्मेवार पदाधिकारीहरूले इमान्दारीपूर्वक लागू गर्नुपर्ने र निगरानी निकायहरूले नियमित परीक्षण गर्ने कार्यविधि बनाइएको छ । यसरी सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र लक्षित बनाउन कटौतीको कार्यान्वयनमा कठोरता अपनाउने जनाएको छ ।

1

Scroll to Top