Banijya News

काठमाण्डौ भित्रिने र बाहिरिने गाडीलाई जिल्ला प्रशासनको अनुमति

1
1.2K Shares

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले काठमाण्डौ जिल्लामा भित्रिने र बाहिरने गाडीहरूलाई सञ्चालनको अनुमति दिएको छ ।

अत्यधिक वर्षाका कारण राजमार्गहरूमा पुग्ने क्षतिलाई ख्याल गरेर सरकारले हिजो तीन दिनका लागि काठमाण्डौ उपत्यकामा भित्रिने र बाहिरने गाडीसहित लामो दुरीका गाडी सञ्चालनमा रोक लगाएकोमा आज जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर सञ्चालनको अनुमति दिएको हो ।

प्रशासनको सूचनामा अहिले मौसम सुधार भएर धादिङ, नुवाकोट, काठमाण्डौ–दक्षिणकाली सडक खण्डका पहिरोहरू पन्छाइसकिएकाले एकतर्फी रूपमा गाडी सञ्चालनको अनुमति दिएको उल्लेख छ ।

अहिले धेरैजसो ठाउँमा पहिरो पन्छाइ एकतर्फी रूपमा गाडी सञ्चालनमा आइरहेको छ । चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोलामा आएको पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड पूर्णरूपमा खुलेको छ । त्यहाँ अहिले गाडीहरू सहज आवागमन भइरहेका छन् ।

यस्तै काठमाण्डौ भित्रिने अर्को मार्ग अरनिको राजमार्ग पनि खुलेको छ । काभ्रे तथा सिन्धुपाल्चोकमा गएका ससना पहिरो पन्छाएपछि गाडी चल्न थालेको हो । यो मार्गबाट दोलखा, रामेछापसहित ओखलढुङ्गा र सोलुखुम्बुका केही भागका बासिन्दाहरू आवातजावात गर्छन् । बीपी राजमार्गमा भने धेरै क्षति पुगेकोले तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन नसकिने सडक आयोजनाले जनाएको छ ।

काठमाण्डौ उपत्यका भित्रिनेसहित देशका अरू ठाउँमा राजमार्गहरू पनि सञ्चालनमा आउन थालेका छन् । मुग्लिनबाट पोखरा जाने सडक पनि पूर्णरूपमा सञ्चालनमा छ । यस्तै बुटवल–नारायणगढ सडक अहिले पूर्णरूपमा सञ्चालनमा रहेको छ ।

1

Scroll to Top