Banijya News

भारतीय बैंकबाट नेपाली व्यवसायीले प्रत्यक्ष रूपमा कर्जा लिन पाउने

1
1.3K Shares

अब नेपाली व्यवसायीले भारतीय बैंकबाट प्रत्यक्ष रूपमा कर्जा लिन सक्ने भएका छन्। भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले नेपाल, भुटान र श्रीलंकाका नागरिकलाई भारतीय रुपैयाँ (भारु) मा ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो।

आरबीआईका गभर्नर सञ्जय मल्होत्राको नेतृत्वमा बसेको मौद्रिक नीति समितिले गत बुधबार बसेको बैठकबाट उक्त निर्णय सार्वजनिक गरेको हो। नयाँ नीतिअनुसार भारतका अथोराइज्ड डिलर बैंकहरू र तिनका विदेशी शाखाहरूले अब नेपाली नागरिक वा व्यवसायीलाई भारुमा ऋण उपलब्ध गराउन सक्नेछन्।

आरबीआईका अनुसार यो व्यवस्था विदेशी विनिमय व्यवस्थापन ऐन (Foreign Exchange Management Act) अन्तर्गतका नियमावलीलाई क्रमशः उदारीकरण गर्ने योजनाको हिस्सा हो। बैंकले चाँडै नै सो ऐनअन्तर्गतका नियम संशोधन गरेर नयाँ प्रावधान कार्यान्वयनमा ल्याउने तयारी गरेको छ।

भारतले पछिल्ला वर्षहरूमा अमेरिकी डलरमा निर्भरता घटाउँदै अन्तर्राष्ट्रिय व्यापारमा भारतीय रुपैयाँको प्रयोग विस्तार गर्ने नीति लिएको छ। त्यसअन्तर्गत नेपाल, भुटान र श्रीलंकाजस्ता छिमेकी मुलुकका नागरिकलाई भारतीय बैंकिङ प्रणालीमा सहज पहुँच दिलाउन कदम चालिएको आरबीआईले जनाएको छ।

नयाँ नीतिबाट भारतीय रुपैयाँमा कारोबार र भुक्तानी गर्न सजिलो हुने तथा क्षेत्रीय व्यापारिक सम्बन्ध बलियो बन्ने अपेक्षा गरिएको छ। यसले कर्जाको पहुँच विस्तार, मुद्रा स्थिरता र कारोबार खर्च घटाउने प्रभाव पार्ने आरबीआईको भनाइ छ।

नेपालका व्यवसायीहरूका लागि यो निर्णय महत्त्वपूर्ण अवसरका रूपमा आएको छ। भारतीय बैंकको स्थिर ब्याजदर, उच्च तरलता र सुगम कर्जा पहुँचका कारण भारतीय बजारमा कारोबार गर्ने वा भारतीय कम्पनीहरूसँग व्यापारिक सम्बन्ध राख्ने व्यवसायी लाभान्वित हुनेछन्।

विशेषज्ञहरूले भने यस कदमले नेपालभित्र कर्जाको मागमा केही कमी ल्याउने र भारतीय बजारबाट आयात झनै बढ्ने अनुमान गरेका छन्। साथै, अन्तर्राष्ट्रिय कारोबारमा भारतीय रुपैयाँको प्रयोग बढ्दै गएपछि क्षेत्रीय आर्थिक सहकार्य अझ सुदृढ हुने विश्लेषण गरिएको छ।

आरबीआईले यसअघि पनि अन्तर्राष्ट्रिय व्यापारमा भारतीय रुपैयाँ प्रयोग बढाउने उद्देश्यका साथ विभिन्न देशसँग भारुमा व्यापारिक भुक्तानीको व्यवस्था गरेको थियो। यो नवीनतम निर्णयलाई सो अभियानकै निरन्तरता मानिएको छ।

1

Scroll to Top