Banijya News

अर्थतन्त्रसँगै खुम्चियो मोटर बीमा व्यवसाय, सम्पत्ति बीमा अग्रस्थानमा

1
1.2K Shares

काठमाडौं । देशको अर्थतन्त्रमा देखिएको संकुचनसँगै निर्जीवन बीमा कम्पनीहरूको प्रमुख आयस्रोत मानिने मोटर बीमा व्यवसाय खुम्चिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना अर्थात् भदौसम्ममा मोटर बीमाको कारोबार घट्दै गएको देखिएको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार सो अवधिसम्म निर्जीवन बीमा कम्पनीहरूले कुल ८ अर्ब २९ करोड ३२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । जसमा मोटर बीमाबाट मात्रै २ अर्ब ३० करोड ६९ लाख रुपैयाँ उठेको छ, जुन कुल कारोबारको २७.८१ प्रतिशत हो । गत वर्ष यही अवधिमा मोटर बीमाको हिस्सा २८.०५ प्रतिशत रहेको थियो ।

बीमा कम्पनीहरूका अनुसार पछिल्लो समय सवारीसाधन बिक्री घट्नु र बजारमा माग कम हुनु नै मोटर बीमा कारोबार खुम्चिनुको प्रमुख कारण हो । अर्थतन्त्रमा आएको मन्दी, बैंकिङ क्षेत्रको ऋण प्रवाहमा आएको कडाइ र उच्च ब्याजदरका कारण नयाँ सवारीसाधन खरिदमा कमी आएको बताइन्छ । यसले बीमा कम्पनीहरूको आम्दानीमा समेत नकारात्मक प्रभाव पारेको हो ।

त्यस्तै, पछिल्लो समय देशमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग बढ्दै गए पनि त्यसका लागि छुट्टै बीमा दर र निर्देशिका निर्माण नहुँदा बीमा कम्पनीहरू अनिश्चिततामा छन् । बीमा प्राधिकरणले सन् २०७३ सालमै ‘मोटर बीमादर निर्देशिका’मार्फत ईभीका लागि छुट्टै अध्याय तयार गर्ने तयारी गरेको भए पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । यस कारण विद्युतीय सवारीसाधनका बीमालेखमा दर र क्षतिपूर्ति सम्बन्धी अस्पष्टता देखिएको बीमा कम्पनीहरूको भनाइ छ ।

मोटर बीमाको कारोबार घट्दै गए पनि निर्जीवन बीमा बजारमा सम्पत्ति बीमाको हिस्सा भने बढ्दै गएको छ । प्राधिकरणका अनुसार चालु आवको पहिलो दुई महिनामा मात्र सम्पत्ति बीमाबाट २ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन भएको छ, जुन कुल निर्जीवन बीमा व्यवसायको ३०.३२ प्रतिशत हो । गत वर्ष यही अवधिमा सम्पत्ति बीमाको हिस्सा २९.६८ प्रतिशत रहेको थियो ।

बीमा व्यवसायीहरूका अनुसार बजारको प्रवृत्तिअनुसार अब बीमा कम्पनीहरूले उत्पादन र सेवाको विविधीकरणमा ध्यान दिनुपर्ने आवश्यकता बढ्दै गएको छ । मोटर बीमाको आम्दानी घट्दै गए पनि सम्पत्ति बीमा, स्वास्थ्य बीमा र अन्य जोखिम सम्बन्धी बीमामा विस्तारको सम्भावना देखिएको उनीहरूको भनाइ छ ।

नेपाल बीमा प्राधिकरणले पनि बीमा व्यवसायलाई समयानुकूल र प्रविधिमैत्री बनाउन विभिन्न नीतिगत सुधारका तयारी गरेको जनाएको छ । प्राधिकरणका अधिकारीका अनुसार बीमा कम्पनीहरूले विद्युतीय सवारीसाधनलगायत नयाँ प्रविधियुक्त क्षेत्रका लागि बीमा दर, निर्देशिका र जोखिम मूल्यांकन प्रणाली अद्यावधिक गर्नुपर्ने आवश्यक छ ।

1

Scroll to Top