चार ठूला जलविद्युत् आयोजनाको लागि लगानी जुटाउन नेपाल विद्युत् प्राधिकरणलाई सरकारले २० अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र जारी गर्ने अनुमति दिएको छ ।
बिहीवार सम्पन्न मन्त्रिपरिषद् बैठकले प्राधिकरणलाई १०६३ मेगावाट क्षमताको अपर अरुण, १०० मेगावाटको तामाकोशी ५, २१० मेगावाटको चैनपुर सेती र ४२ मेगावाटको मोदी जलविद्युत् आयोजना निर्माणका लागि रकम जुटाउन ऊर्जा ऋणपत्र जारी गर्ने स्वीकृति दिएको हो ।
प्राधिकरणमार्फत निर्माण गर्न लागिएका यी चार ठूला जलविद्युत् आयोजनाका लागि आवश्यक रकम जुटाउन ऋणपत्र जारी गरिने प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले आर्थिक अभियानलाई बताए । ‘प्राधिकरणले चरणबद्ध रूपमा ऋणपत्र जारी गर्नेछ,’ उनले भने ।
उनका अनुसार ठूला परियोजना निर्माणका लागि अर्बौं रकम आवश्यक हुने भएकाले सोही प्रयोजनका लागि प्राधिकरणले लामो समयदेखि ऋणपत्र जारी गर्ने योजना बनाएको थियो । ‘हाल आएर सरकारले स्वीकृति दिएको छ । अब ती आयोजना बनाउन सहज हुन्छ,’ सिलवालले भने ।
यसअघि हाल ऊर्जामन्त्री रहेका कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा नै उनले ऋणपत्र जारी गर्न सरकारसँग स्वीकृति मागेका थिए ।
गत चैतमा तत्कालीन सरकारले घिसिङलाई पदबाट हटाएर उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई ल्याएपछि शाक्यले समेत २० अर्ब रुपैयाँको ऋणपत्रका लागि सरकारसँग अनुमति मागेका थिए । प्राधिकरणको उत्पादन, प्रसारण र वितरण प्रणाली सुधारका लागि ऋणपत्र जारी गर्नुपर्ने आवश्यकता रहेको उनले बताउँदै आएका थिए ।


