Banijya News

स्टार्टअप उद्यमीलाई तीन प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा: कसले, कसरी पाउँछन् ?

1
1.2K Shares

सरकारको पछिल्लो निर्णयअनुसार सूचना प्रविधिको बढ्दो प्रयोग र सृजनशील सोचलाई उद्यममा रूपान्तरण गर्नका लागि ‘स्टार्टअप कर्जा कार्यक्रम सञ्चालन कार्यविधि–२०८२’ लागू गरिएको छ । यस कार्यविधिअनुसार योग्य उद्यमीलाई बिनाधितो कर्जा वार्षिक ३ प्रतिशत ब्याजदरमा न्यूनतम ५ लाखदेखि अधिकतम २० लाख रुपैयाँसम्म प्रवाह गरिने व्यवस्था गरिएको छ ।

तर, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले विगतमा २५ लाख रुपैयाँसम्म वितरण हुँदै आएको भन्दै नयाँ कार्यविधिमा पनि सोही सीमा कायम राख्न माग गर्दै आएको छ । कार्यकारी निर्देशक उमेशकुमार गुप्ताका अनुसार कर्जा वितरणका लागि कार्यविधिमा केही संशोधन गरिँदैछ । उनका अनुसार, कार्यविधि मन्त्रालयमा तयार भइसकेको भए पनि अधिकतम सीमा २५ लाख कायम राख्ने विषयमा अन्तिम छलफल भइरहेको छ ।

कर्जा वितरणका लागि प्रस्ताव आह्वान भने यस वर्ष केही ढिलाइ भएको छ । अघिल्ला वर्षहरूमा भदौ महिनादेखि प्रस्ताव मागिँदै आएकोमा यो वर्ष जेनजी आन्दोलन र प्रशासनिक कारणले ढिलाइ भएको प्रतिष्ठानले जनाएको छ । अब आवेदन प्रक्रिया अर्को हप्तादेखि खुल्ने तयारी भएको गुप्ताले जानकारी दिए ।

चालु आर्थिक वर्षका लागि सरकारले स्टार्टअप उद्यम कर्जा कार्यक्रममार्फत ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अघिल्लो वर्ष एक अर्ब रुपैयाँ विनियोजन भए पनि ८८ करोड ६६ लाख रुपैयाँ मात्र कर्जा प्रवाह भएको थियो । गत वर्ष ५ हजारभन्दा बढी आवेदन परेका मध्ये ६ सयभन्दा बढी उद्यमीले कर्जा प्राप्त गरेका थिए ।

कार्यविधिअनुसार स्टार्टअप कर्जा पाँच मुख्य क्षेत्रका उद्यमीलाई प्रवाह गरिनेछ — कृषि तथा उत्पादनमूलक क्षेत्र, सूचना प्रविधि तथा डिजिटल सेवा, पूर्वाधार तथा यातायात, सामाजिक सेवा र पर्यटन, र परम्परागत वा स्थानीय स्रोतमा आधारित उद्यमहरू । यीमध्ये कुनै पनि क्षेत्रको नवीन र सृजनशील सोच भएको व्यवसायले कार्यविधिमा उल्लेख गरिएका मापदण्ड पूरा गरेमा कर्जा पाउन सक्छ ।

कसले कसरी पाउँछन् ?

कर्जा पाउने उद्यमी प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारीका रूपमा दर्ता भएको हुनुपर्नेछ । दर्ता मितिबाट १० वर्ष ननाघेको, वार्षिक कारोबार १५ करोड रुपैयाँभन्दा कम भएको र व्यवसाय घाटामा नपरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । साथै, कालोसूचीमा परेको वा आयातित वस्तु बिक्री वितरण गर्ने व्यवसायलाई स्टार्टअप उद्यमका रूपमा मानिने छैन ।

कर्जा वितरणका लागि प्रस्तावहरू प्रतिष्ठानले प्राथमिकता सूचीमा राख्नेछ । प्रारम्भिक छनोटमा परेका उद्यमीलाई व्यावसायिक योजना प्रस्तुत गर्न आमन्त्रण गरिनेछ । बैंकको क्रेडिट मूल्याङ्कनमा ५० प्रतिशत वा सोभन्दा बढी अंक प्राप्त गर्ने उद्यमीलाई कर्जा सिफारिस गरिने व्यवस्था गरिएको छ ।

कर्जाको अवधि अधिकतम पाँच वर्षको हुनेछ । पहिलो किस्ता पाएको एक वर्षपछि साँवा र ब्याज भुक्तानी सुरु गर्नुपर्नेछ । सम्झौता भएपछि सात कार्यदिनभित्र पहिलो किस्ता वितरण गर्नुपर्ने र ३० दिनभित्र सम्बन्धित बैंकमा सम्पर्क नगरे प्रस्ताव स्वतः रद्द हुने व्यवस्था गरिएको छ ।

कर्जा रकमको आकारअनुसार किस्ताको संख्या तोकिएको छ — पाँच लाखसम्म एक किस्ता, १५ लाखसम्म दुई किस्ता र सोभन्दा बढी तीन किस्तासम्म कर्जा उपलब्ध हुनेछ ।

यस कार्यक्रम अन्तर्गत कर्जा प्रवाहको सम्पूर्ण विवरण बैंकले सात दिनभित्र प्रतिष्ठानलाई पठाउनुपर्ने र कर्जा प्रवाह असम्भव भए कारणसहित लिखित जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

सरकारले ल्याएको ‘स्टार्टअप कर्जा कार्यविधि–२०८२’ सृजनशील र नवप्रवर्तक सोच भएका उद्यमीहरूलाई आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने उद्देश्यले तयार गरिएको हो । अब आगामी हप्तादेखि आवेदन खुल्ने तयारीसँगै युवा उद्यमीहरूमा उत्साह थपिएको छ ।

1

Scroll to Top