सरकारले ठूलो तामझामका साथ सुरु गरेको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्ततः बैंक तथा वित्तीय संस्थाहरूको परम्परागत कर्जा प्रणालीमा समाहित भएको छ । नवीनतम सोच र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने भनिएको यो कार्यक्रम भर्खरै सार्वजनिक ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८२’ मार्फत आफ्नो मूल उद्देश्यबाट केही मोडिएको देखिएको छ ।
नयाँ कार्यविधिले अब कर्जा प्रवाहदेखि असुलीसम्मको सम्पूर्ण जिम्मेवारी र जोखिम बैंक तथा वित्तीय संस्थाहरूको काँधमा सुम्पेको छ, जसले गर्दा कर्जा लिने प्रक्रियामा कडाइ आएको छ भने उद्यमीको परियोजना नै धितो राख्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा सार्वजनिक गरिएको यस कार्यविधिले स्टार्टअप उद्यमीहरूलाई आफूले सञ्चालन गरिरहेको परियोजनालाई नै धितोका रूपमा राखेर सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने व्यवस्था गरेको छ ।
सुरुमा धितोविहीन उद्यमशील सोचलाई प्रोत्साहन गर्ने र अचल सम्पत्ति नभएका युवालाई सहज ऋण सुविधा दिने लक्ष्य राखिए पनि, अब कर्जा प्राप्तिका अन्य प्रक्रियाहरू पनि बैंकहरूले आफ्ना अन्य ग्राहकसँग गर्ने सम्झौता र सर्तहरू जस्तै हुनेछन् ।
कार्यविधिले कर्जा नतिरेको खण्डमा हुने कारबाहीको सम्पूर्ण जिम्मेवारी बैंकहरूलाई दिएको छ । कार्यविधिमा स्पष्ट छ, ‘कर्जाको असुली तथा अनुगमन गर्ने दायित्व बैंकको हुनेछ ।’ यदि कर्जाको साँवा वा ब्याज समयमै भुक्तानी नभएमा, बैंकहरूले कानुन बमोजिम असुलउपर गर्ने पूर्ण अधिकार पाउनेछन् ।
नतिर्नेलाई कालोसूचीको डण्डा
नयाँ व्यवस्थाअनुसार कर्जा नतिर्ने उद्यमीलाई बैंक तथा वित्तीय संस्थाहरूले कडा कारबाही गर्न सक्नेछन् । बैंकले सम्बन्धित निकायमा कालोसूचीमा राख्न, ऋणलाई खराब कर्जामा गणना गर्न, चल–अचल सम्पत्ति रोक्का गर्न वा बैंक खाता रोक्का गर्न लगायतका सिफारिस गर्न सक्नेछन् । यस्तो सिफारिस आएमा सम्बन्धित निकायले त्यसलाई कार्यान्वयन गर्नुपर्ने बाध्यकारी व्यवस्था समेत कार्यविधिमा समेटिएको छ ।
सहुलियतपूर्ण कर्जा भनिए पनि कार्यविधिले बैंकहरूलाई कर्जा प्रवाह गर्दा लाग्ने प्रशासनिक वा सेवा शुल्कबापत कर्जा रकमको अधिकतम ०.१५ प्रतिशतसम्म शुल्क लिन सक्ने बाटो खुला गरेको छ ।
स्टार्टअप कर्जाका लागि योग्यता
स्टार्टअप कर्जाका लागि योग्यता निर्धारण गर्दै नयाँ कार्यविधिले केही मापदण्ड तोकेको छ । यस अनुसार, कर्जा प्राप्त गर्न योग्य उद्यमहरू प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्थाका रूपमा सम्बन्धित निकायमा दर्ता भएको हुनुपर्छ । त्यस्ता उद्यममा नवीन तथा सिर्जनशील सोच र प्रविधि प्रयोग भएको हुनुपर्ने र वस्तु वा सेवाको उत्पादनमा उच्च वृद्धिको सम्भावना बोकेको हुनुपर्छ । योग्यताको समय सीमा पनि तोकिएको छ; व्यवसाय दर्ता भएको १० वर्ष ननाघेको र कुनै पनि आर्थिक वर्षमा वार्षिक कारोबार १५ करोड रुपैयाँभन्दा बढी नभएको हुनुपर्नेछ । यद्यपि, केही प्रकृतिका व्यवसायलाई भने अयोग्य ठहर गरिएको छ । नयाँ उद्यम–व्यवसाय हुनुपर्ने सर्त राखिएकाले गाभिएका वा टुक्रिएका व्यवसाय योग्य मानिने छैनन् । त्यसैगरी, कानुन बमोजिम उद्योगका रूपमा दर्ता नभएका, विदेशबाट वस्तु वा सेवा आयात गरी बिक्री वितरण गर्ने व्यवसाय, कालोसूचीमा परेका व्यवसाय, र औद्योगिक व्यवसाय ऐन २०७६ बमोजिम होल्डिङ तथा लगानी कम्पनीका रूपमा दर्ता भएका व्यवसायहरू यस कर्जाका लागि योग्य ठहरिने छैनन् । कर्जा प्रवाहका लागि छुट्याइएको रकम सरकारी स्वामित्वका वाणिज्य बैंकहरूमा छुट्टै खाता खोली जम्मा गरिने व्यवस्था छ । यदि सम्बन्धित स्थानीय तहमा सरकारी स्वामित्वको वाणिज्य बैंक उपलब्ध नभएमा, सरकारी कारोबार समेत गर्न तोकिएका निजी क्षेत्रका वाणिज्य बैंकहरूलाई पनि यो जिम्मेवारी दिन सकिने कार्यविधिमा उल्लेख छ । अन्ततः, नयाँ कार्यविधिले युवा उद्यमीहरूलाई परियोजना धितोमा ऋण प्राप्त गर्ने अवसर दिए पनि, कर्जा असुलीको कडा प्रावधान र जोखिमको पूर्ण जिम्मेवारी बैंकहरूलाई हस्तान्तरण गरिएकाले स्टार्टअपहरूलाई आफ्नो परियोजनाको सफलता सुनिश्चित गर्न थप दबाब सिर्जना भएको देखिन्छ ।


