नेपाल राष्ट्र बैंकले ३ अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्नका लागि बैंकहरुसँग प्रस्ताव माग गरेको छ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब ६४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ४९ करोड ५० लाख तथा वित्त कम्पनीहरुमा १६ करोड ५० लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ । आगामी अक्टोवर ३० देखि लागू हुनेगरी सन् २०२६ अक्टोबर ३० सम्म ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित असोज २९ गते राति ७ बजेभित्र प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको, न्यूनतम पुँजी कोष कायम भएको, निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको लगायतका शर्तहरु तोकिएको छ ।


