स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)ले नेपालको पूँजी बजारको दीर्घकालीन सम्भावना उज्जवल रहेको भन्दै लगानीकर्तालाई आत्मविश्वासका साथ संयमित ढंगले कारोबार गर्न आग्रह गरेको छ। पछिल्लो समय बजारमा देखिएको अनिश्चितताका कारण लगानीकर्ताको मनोबल कमजोर भएको भन्दै अब धैर्य र सकारात्मक दृष्टिकोणका साथ अघि बढ्न एसबानका अध्यक्ष सागर ढकालले आह्वान गरेका हुन्।
उनका अनुसार हाल नेप्से परिसूचक न्यूनतम बिन्दुमा पुगेको भए पनि सरकार, नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डलगायत निकायहरूले बजार स्थिरता र सुधारका लागि ठोस कदम चालिसकेका छन्।
ढकालका अनुसार ब्रोकर एशोसिएशनले पनि सरोकारवाला निकायहरूसँग निरन्तर संवाद गर्दै बजार सुधारका दीर्घकालीन नीतिहरू लागू गर्न दवाव दिँदै आएको छ।
उनले हालको आन्दोलन, राजनीतिक अस्थिरता र सामाजिक तनावका बाबजुद देशको आर्थिक सूचकांकहरू-जस्तै बैंक ब्याजदर, विदेशी मुद्राको भण्डार, मुद्रास्फीति दर र वित्तीय तरलता-सबै क्रमशः सुधारोन्मुख रहेको बताए।


