Banijya News

जेन–जी आन्दोलनका घाइतेको उपचारमा एक अर्ब बढी खर्च

1
1.2K Shares

भदौ २३ र २४ मा जेन–जी प्रदर्शनमा हालसम्म घाइते भएकाको उपचारमा एक अर्बभन्दा बढी रकम खर्च भएको छ । सामान्य र जटिल अवस्थाका घाइतेको निजी र सरकारी अस्पतालमा उपचार गर्दा ठुलो रकम खर्च भएको हो । अस्पताल पुगेकामध्ये ६५ जनाको सघन उपचार कक्षमा उपचार भएको थियो । घाइतेको उपचारको सबै रकम स्वास्थ्य मन्त्रालयले व्यहोर्नेछ । मन्त्रालयले निजी र सरकारी स्वास्थ्य संस्थालाई पत्राचार गरी जेन–जी प्रदर्शनमा घाइते भएकाको उपचार गर्दा कुनै पनि शुल्क नलिन भनेको छ । उपचार गर्दा लागेको रकम मन्त्रालयले सोझै अस्पताललाई दिनेछ ।

सोमबारसम्म अस्पतालमा उपचाररत घाइतेको संख्या २४ छ । जसमा राष्ट्रिय ट्रमा सेन्टरमा १०, त्रिवि शिक्षण, वीर र केएमसीमा तीन–तीनजना उपचाररत छन् । बी एन्ड बीमा दुई, पाटन अस्पताल र नोबेल मेडिकल कलेजमा एक–एकजनाको उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयले गत बिहीबार मन्त्रालयको प्राविधिक समिति गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा जेन–जी घाइते वर्गीकरण प्राविधिक समिति गठन गरेको थियो । समितिले सोमबार बैठक बसेर घाइतेहरूको अवस्था छुट्याउने, अंगमा क्षति भएको हिसाबमा वर्गीकरण गर्नेबारे छलफल गरेको छ । सबै रिपोर्ट तयार गरी गृह मन्त्रालयमा पेस गर्ने प्रवक्ता बुढाथोकीले बताए । उनका अनुसार समितिले सबैभन्दा बढी कसलाई इन्जुरी भयो भनेर अध्ययन गरिरहेको छ ।

हालसम्म प्राप्त तथ्यांकअनुसार एउटा खुट्टा गुमाउने घाइते संख्या ६, एउटा हात गुमाउने संख्या एक, एक आँखा गुमाउने संख्या एक, एउटा कान गुमाउने एक, कम्मरमुनिको भाग नचल्ने एक, चारवटै हातखुट्टा नचल्ने एक, छातीमा गोली लागेर घाइते भएका ६० जनाभन्दा बढी, पेटमा गोली लागेर घाइते हुने १५ भन्दा बढीलगायत गरी दुई सयभन्दा बढीलाई ठुलो इन्जुरी भएको छ । उनीहरूको निरन्तर उपचार गर्नुपर्ने र उपचारमा थप खर्च लाग्ने छ ।

हालसम्म बिरामीको उपचार गराएका निजी अस्पतालमध्ये ह्याम्स, केएमसी र बी एन्ड बी अस्पतालले रकम माग गरिसकेका छन् । यी अस्पतालले सुरुमा नि:शुल्क घाइतेको उपचार गर्ने बताएर पछि मन्त्रालयसँग खर्च माग गरेको प्रवक्ता बुढाथोकीले बताए ।

जेन–जी प्रदर्शनका क्रममा २५ सयभन्दा बढी घाइते भएको मन्त्रालयले जनाएको छ । उनीहरूमध्ये अघिकांश अस्पताल पुगेका थिए । अस्पतालमा भर्ना भएर डिस्चार्ज भएकाहरू फलोअपमा पनि आउने गरेका छन् । कतिपयलाई उपत्यकादेखि दुर्गम गाउँसम्म एम्बुलेन्समै लैजानुपर्ने र ल्याउनुपर्ने हुँदा बढी खर्च लागेको मन्त्रालयको भनाइ छ । कतिपयलाई धेरैवटा औषधि चलाउँदा बढी खर्च लागेको छ । घाइते भएर हातखुट्टा गुमेकालाई सेन्सर भएको नक्कली खुट्टा र हात राख्न थप खर्च हुने गरेको छ ।

त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम विभागमा राखिएको ६ वटा शवको कंकाल मात्रै छ । ती कंकाल कसको हो भनेर अझै पुष्टि हुन सकेको छैन । भाटभटेनी डिपार्टमेन्ट स्टोरका भवनमा जलेको अवस्थामा भेटिएको कंकाल पोस्टमार्टम विभागमा राखिएको छ । त्रिवि शिक्षण अस्पतालमा सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार उक्त कंकालबारे केही आफन्त दाबी गर्न आए पनि पुष्टि नभएपछि जिम्मा लगाउन सकिएको छैन ।

1

Scroll to Top