कम्पनीमार्फत गरिने तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबारका लागि सरकारले अनिवार्य अनुमति लिनुपर्ने नयाँ व्यवस्था लागू गरेको छ। यससँगै अब जग्गाको क्षेत्रफल नभई कारोबारको मूल्यलाई आधार बनाएर सीमा निर्धारण गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत ऐन, २०३४ को दफा २६ (क) र (ख) को प्रयोजनका लागि नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर यो नयाँ नियम लागू गरेको हो। मन्त्रालयका सचिव केदारनाथ शर्माका अनुसार यो सूचना सोमबार राजपत्रमा प्रकाशित भएको छ।
यी सहरहरूमा लागू हुनेछ नियम :
नयाँ नियम हालका लागि देशका ६ महानगरपालिका र ११ उपमहानगरपालिका भित्र लागू हुनेछ। यी सहरहरूमा कम्पनीमार्फत ३ करोडभन्दा माथिको घरजग्गा किनबेच गर्दा अनिवार्य रूपमा भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट अनुमति लिनुपर्नेछ।
नियम लागू हुने महानगरपालिकाहरू:
- काठमाडौँ
- ललितपुर
- विराटनगर
- वीरगञ्ज
- भरतपुर
- पोखरा
नियम लागू हुने उपमहानगरपालिकाहरू:
- धरान
- इटहरी
- जनकपुरधाम
- जीतपुरसिमरा
- कलैया
- हेटौडा
- बुटवल
- घोराही
- तुल्सीपुर
- नेपालगञ्ज
- धनगढी
एकपटकमा रु तीन करोडभन्दा बढीको कारोबारका लागि अनुमति दिने सम्वद्ध अधिकारीका रूपमा भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकलाई तोकिएको छ।
यसैगरी, मन्त्रालयले जारी गरेको सूचनामार्फत भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ र त्यसअन्तर्गत गठन भएका सर्वेक्षण समितिहरू समेत खारेज गर्ने निर्णय भएको जानकारी पनि दिएको छ।


