Banijya News

सडक विभाग र प्रहरीलाई तत्काल गाडी आवश्यक, अर्थले दिएन खरिद सहमति

1
1.2K Shares

भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनका क्रममा आन्दोलनकारीले सरकारी गाडीहरू जलाइदिएपछि नेपाल प्रहरी र सडक विभागसहितका सरकारी कार्यालयहरूको दैनिक कार्य सञ्चालनमा गम्भीर समस्या आएको छ। जलेका गाडीको सट्टा नयाँ सवारी साधन खरिदका लागि सहमति माग्दै विभिन्न मन्त्रालयहरूले अर्थ मन्त्रालयमा पत्राचार सुरु गरेका छन्। सडक विभागले तत्काल ४५ वटा नयाँ गाडी खरिदका लागि सहमति मागेको भए पनि अर्थ मन्त्रालयले भने हालसम्म खरिदको सहमति दिएको छैन l अर्थ मन्त्रालयले मागको अध्ययन भइरहेको जनाएको छ।

भदौ २४ गतेको आन्दोलनका क्रममा काठमाडौं उपत्यका र सडकहरूमा गुडिरहेका ५०० भन्दा बढी चारपाङ्ग्रे सरकारी गाडीहरू जलाइएका थिए। यसैगरी, एक हजार हाराहारीमा दुईपाङ्ग्रे सरकारी सवारी साधन पनि जलेका थिए। आगो लागेका अधिकांश गाडीहरू कामै नलाग्ने गरी पूर्णरूपमा क्षतिग्रस्त (पत्रु) भएका छन्।

यसबाट सबैभन्दा बढी प्रभावित हुनेमा नेपाल प्रहरी र सडक विभाग परेका छन्। सडक विभागभित्र राखिएका मात्रै ६५ वटा चारपाङ्ग्रे गाडीहरू (जीप, पिकअप र कार) जलेर नष्ट भएका थिए। विभागका एक अधिकारीका अनुसार, गाडी अभावकै कारण विभागले अहिले विभिन्न डिभिजन कार्यालयबाट गाडी तानेर केन्द्रको दैनिक कार्य धानिरहेको छ, जसले गर्दा जिल्लाका कार्यालयहरूमा गाडीको अभाव सिर्जना भएको छ।

सडक विभागले तत्कालको समस्या समाधानका लागि ३० वटा पिकअप जीप, दशवटा बन्दबढी जीप र पाँचवटा विद्युतीय कार गरी कुल ४५ वटा गाडी किन्नका लागि अर्थ मन्त्रालयमा पत्राचार गरेको छ।

विभागले यी गाडीहरू कन्टिजेन्सी (Contingency) बापतको रकम तानेर खरिद गर्ने योजना बनाएको छ। सार्वजनिक खरिद नियामावली, २०६४ अनुसार कुनै पनि आयोजनाको लागत अनुमानको अधिकतम तीन प्रतिशतसम्मको रकम कन्टिजेन्सी शीर्षकअन्तर्गत छुट्याई खर्च गर्न सकिने प्रावधान छ। तर, चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयले विभिन्न योजनाहरूको रकम होल्ड गर्न निर्देशन दिएको र खर्च कम हुने सम्भावना रहेकाले कन्टिजेन्सी रकम पनि पर्याप्त नहुन सक्ने चिन्ता विभागका अधिकारीहरूको छ।

सडक विभागसँगै आन्तरिक स्रोत नभएको नेपाल प्रहरीलाई समेत गाडी अभावले ठूलो समस्या परेको छ। सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेकाले निर्वाचनको सुरक्षा तयारीका लागि प्रहरीलाई तत्काल सवारी साधन आवश्यक छ। निर्वाचन आयोगले पनि प्रहरीलाई गाडी लगायतका साधन/स्रोत चाँडै उपलब्ध गराउन सरकारलाई भनिसकेको छ। प्रहरीका लागि गाडी खरिद गर्ने सम्पूर्ण जिम्मेवारी पनि सरकारकै काँधमा आएको छ।

यसरी मन्त्रालयहरूले ठूलो संख्यामा नयाँ गाडी खरिदका लागि सहमति माग गरे पनि अर्थ मन्त्रालयले भने तत्काल सहमति दिएको छैन। अर्थ मन्त्रालयले हाल प्राप्त मागहरूको विस्तृत अध्ययन र विश्लेषण भइरहेको जनाएको छ।

1

Scroll to Top