तिहारलगायतका चाडपर्वमा उज्यालो बनाउन बालिने झिलिमिली बत्ती नेपालमै तयार नहुँदा बर्षेनी करोडौं रुपैयाँ बाहिरिने गरेको छ । नेपालमा खास गरी तिहार, छठ, क्रिसमस डे, विवाह लगायतका पर्वमा झिलिमिली बत्ती बाल्ने परम्परा छ । यस्ता चाडपर्वमा बालिने यो बत्ती शतप्रतिशत आयात हुँदै आएको छ ।
नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका अनुसार नेपालमै यस्ता बत्ती तयार नहुँदा वर्षेनी करोडौं रुपैयाँबराबरको आयात हुँदै आएको छ । नेपालमै यस्ता बत्ती तयार भएको भए कम्तिमा ५० हजारको हाराहारीमा नेपालीले रोजगारी पाउन सक्ने अवस्था सिर्जना हुन सक्थ्यो ।
झिलिमिली बत्तीको विश्वभर ठूलो बजार भएकाले नेपाली उद्योगीहरुले यो क्षेत्रमा लगानी भित्र्याएर मुलुकलाई आत्मनिर्भर बनाउनुका साथै निर्यात गरेर ठूलो रकम आर्जन गर्न सकिने नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका अध्यक्ष रेशम देवकोटाको भनाइ छ ।
चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मात्रै साढे २६ करोड रुपैयाँबराबरको २६ लाख ८ हजार ७ सय ९२ प्रकारका विभिन्न डिजाइन र रंगको झिलिमिली बत्ती नेपालमा आयात भएको छ ।
यो वर्ष असार महिनाको सुरुआतदेखि नै उत्तरी छिमेकी मुलुक चीनतर्फको प्रमुख दुई नाका रसुवा र तातोपानी नाका पूर्ण रुपमा अवरुद्ध हुँदा ठूलो परिमाणमा तयारी बत्ती चीनतर्फ नै अडकेको छ ।
कोलकात्ता बन्दरगाहमार्फत वीरगञ्ज आइपुगेको झिलिमिली बत्ती नै अहिले बजारभर छरिएको उनको भनाइ छ ।
भन्सार विभागको तथ्याँकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४३ करोड रुपैयाँबराबरको ८० लाख ६८ हजार पिस विभिन्न प्रकारका झिलिमिली बत्ती आयात भएको थियो ।
यस्ता झिलिमिली बत्तीको कूल वार्षिक कारोबारमध्ये झण्डै ८० देखि ८५ प्रतिशत तिहारमा हुने गर्छ । बाँकी छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, होटेल र रेष्टुरेन्ट तथा विहे व्रतबन्धजस्तो शुभकार्यमा सजावटका लागि प्रयोग हुने महासंघले जनाएको छ।
पछिल्लो सात वर्षको अवधिमा सबैभन्दा बढी अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ७८ करोड ९२ लाख रुपैयाँबराबरको ९९ लाख ५४ हजार ५ सय ४९ पिस बत्ती आयात भएको थियो । सबैभन्दा कम भने आर्थिक वर्ष २०७९/८० मा ८ करोड रुपैयाँबराबरको २ लाख ६० हजार ५ सय ७८ पिस आयात भएको थियो ।
यसअनुसार ७ वर्षको अवधिमा ६ अर्ब ४० करोड रुपैयाँ बराबरको बत्ती नेपाल आयात भएको छ । महासंघका अनुसार तिहारमा बालिने यस्ता झिलिमिली बत्ति छिमेकी मुलुक चीन, भारत, बहराइन, अष्ट्रेलिया, हङकङजस्ता मुलुकबाट आयात हुन्छ ।


