Banijya News

सुन आयातमा बाहिरियो १० अर्ब २५ करोड रुपैयाँ

1
1.1K Shares

चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा नेपालमा ६०१ किलोग्राम सुन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा सुन आयातमा नेपालबाट १० अर्ब २५ करोड रुपैयाँभन्दा धेरै बाहिरिएको छ ।

यो गत वर्षको यही अवधिको तुलनामा उल्लेख्यमात्रामा बढी हो । गत वर्षको यही अवधिमा १०० किलोग्राम मात्रै सुन आयात भएको थियो ।

गत वर्षको तुलनामा भाउ बढेपछि लगानीकर्ताले सुनमा लगानी वृद्धि गर्दा माग बढेको हो । पछिल्लो समय बजारमा सुनको माग अधिक र आपूर्ति न्यून हुँदा अभाव बढेको थियो । बजारमा सुनको माग बढेपछि सरकारले आयात कोटा समेत बढाएको छ ।

गत आव सुन आयात कोटा नै थोरै थियो । साथै, आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण सुनमा लगानी गर्ने लगानीकर्ताले समेत बिक्री गरेको अवस्था थियो । त्यसले गर्दा पनि गत आव पहिलो त्रैमासमा सुन आयात कम भएको देखिन्छ ।

तर, चालु आव पहिलो त्रैमासमा विदेशी मुद्रा सञ्चितिमा आएको सुधारलाई सुनको लगानीतर्फ समेत परिचालन गर्दा आयात बढेको हो । सुनको भाउमा आएको निरन्तर सुधारले पनि लगानीकर्ता आकर्षित गरेको छ ।

त्यसले पनि आयात बढ्नुमा महत्त्वपूर्ण भूमिका खेलेको छ । सुन आयात परिमाण कोटा पनि दैनिक २० बाट २५ किलो पुगेको छ । बैंकहरूले आयात गरेको सुन व्यवसायीहरूले खरिद गरेर सर्वसाधारणमा गहनाका रूपमा बिक्री गर्छन् ।

चालु आव पहिलो त्रैमासमा १० अर्ब २५ करोड रुपैयाँ बराबरको काँचो सुन आयात भएको छ । त्यसबाट सरकारले १ अर्ब २ करोड राजस्व आम्दानी गरेको छ ।

त्यसैगरी ७ करोड १५ लाख रुपैयाँ बराबर सुनका गरगहना आयात भएको छ । सुन गरगहना आयातबाट सरकारले करिब ३४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

1

Scroll to Top