अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्ष ०८२/८३ को तीन महिनामा एक करोड नौ लाख सात हजार आठ सय रुपैयाँ जरिवाना असुली गरेको छ । २ कात्तिकमा भएको अनुगमनबाट थप एक लाख ४० हजार गरी हालसम्म कुल एक करोड १० लाख ४७ हजार आठ सय रुपैयाँ जरिवाना असुल गरेको जनाएको छ ।
विभागका निर्देशक भरतप्रसाद आचार्यका अनुसार साउनमा ५९ लाख ४९ हजार, भदौमा ३१ लाख ६० हजार दुई सय र असोजमा १७ लाख ९८ हजार ६ सय रुपैयाँ जरिवाना असुली गरिएको छ ।
विभागले साउनमा तीन सय ६४ फर्ममा अनुगमन गर्दा ७१ फर्मलाई जरिवाना तिराएको जनाएको छ । त्यस्तै, भदौमा तीन सय ३६ फर्ममा अनुगमन गर्दा ७० फर्म र असोजमा चार सय आठ फर्ममा अनुगमन गर्दा ९१ फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ । निर्देशक आचार्यका अनुसार असोजमा ५९ हजार नौ सय ९० रुपैयाँ र भदौमा ५५ हजार ८० रुपैयाँ मूल्यबराबरको अखाद्य वस्तु बजारबाट जफत गरी नष्ट गरिएको छ ।
विभागले पछिल्लो समय अनुगमनलाई तीव्रता दिन नसकेको गुनासो बढिरहेको छ । तर, निर्देशक आचार्यले सीमित जनशक्तिले बजारको सुपरिवेक्षणमा सक्दो ध्यान दिइरहेको दाबी गरे ।
विभागले दसैँ–तिहारमा राजमार्गका होटेल–रेस्टुरेन्टमा अनुगमन गरेको जनाएको छ । केही टोली मुग्लिनसम्म पुगेर ३४ होटेल–रेस्टुरेन्टमा र केही टोली बर्दीबाससम्म पुगेर २४ होटेल–रेस्टुरेन्टमा अनुगमन गरेको निर्देशक आचार्यले जानकारी दिए ।
लेबल नभएको वस्तु बिक्री, मूल्यसूची र साइनबोर्ड नराखेमा, त्रुटिपूर्ण वस्तुको बिक्री, भ्रामक विज्ञापन, अनावश्यक मौज्दात, म्याद गुज्रिएको सामग्री बिक्री, कालोबजारी, अधिकतम खुद्रा बिक्री मूल्य, बिलबिजक जारी नगर्ने, दर्ता तथा नवीकरण नगरी व्यवसाय सञ्चालन गरेमा, गुणस्तर र मूल्यमा ठगेमा, सात दिनभित्र बिक्री भएको वस्तु फिर्ता नलिएमा लगायतका कसुर भेटिए विभागले जरिवाना तिराउने गरेको छ ।


