नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की–बरेली चारसय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम तथा शेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जामन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा आज नयाँ दिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
संयुक्त लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएसँगै प्राधिकरण र पावर ग्रिडको लगानीमा दुवै प्रसारण लाइन निर्माणका लागि कम्पनी संस्थापना गर्न बाटो खुलेको छ । दुईवटा अन्तरदेशीय प्रसारण लाइनको भारतीय भू–भागमा पर्ने खण्ड निर्माणका लागि भारतमा संस्थापना गरिने संयुक्त कम्पनीमा प्राधिकरणको ४९ प्रतिशत र पावर ग्रिडको ५१ प्रतिशत सेयर हिस्सा रहनेछ ।
त्यस्तै नेपाली भू–भागमा पर्ने खण्डमा नेपालमा संस्थापना हुने संयुक्त कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रिडको ४९ प्रतिशत सेयर हिस्सा रहनेछ । इनरुवा पूर्णिया प्रसारण लाइनको झन्डै २६ किलोमिटर खण्ड नेपाली र एक सय नौ किलोमिटर खण्ड भारतीय भू–भागमा पर्नेछ । लम्की बरेली प्रसारण लाइनको ३३ किलोमिटर खण्ड नेपाली र एक सय ८५ किलोमिटर खण्ड भारतीय भू–भागमा निर्माण हुनेछ ।
नेपाल–भारत संयुक्त प्राविधिक टोलीले सन् २०१९ मा तयार पारेको अध्ययन प्रतिवेदनअनुसार इनरुवा पूर्णिया प्रसारण लाइनको प्रारम्भिक लागत नेपाली खण्डमा दुई अर्ब ६५ लाख भारतीय खण्डमा चार अर्ब १३ करोड भारतीय रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
त्यस्तै लम्की बरेली प्रसारण लाइनको नेपालतर्फ दुई अर्ब ५७ करोड र भारततर्फ छ अर्ब १४ करोड भारु रहेको छ । प्राधिकरणले आफ्नै स्रोतबाट नेपालमा स्थापना हुने कम्पनीमा एक अर्ब र भारतमा संस्थापना हुने कम्पनीमा दुई अर्ब बराबरको इक्विटी लगानी गर्नेछ ।
नेपाल र भारतबीचको विद्युत व्यापार, अन्तरदेशीय प्रसारण लाइन संयोजन एवम् सञ्चालन संयोजन सम्बन्धी सम्झौताको प्रावधनबमोजिम दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ११ फेब्रुवरी २०२५मा भारतको नयाँ दिल्लीमा सम्पन्न बैठकले प्रसारण लाइन निर्माण तथा सञ्चालन र लगानी मोडालिटीमा सहमति गरेको थियो। त्यसपछि प्राधिकरण र बावर ग्रिडबीच विभिन्न चरणमा भएका छलफलपछि २२ अप्रिल २०२५मा प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी संस्थापना गर्ने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो । दुवै लाइनको निर्माण सन् २०३० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
नेपाल र भारतबीच व्यापारका लागि हाल ४०० केभीको ढल्केबर–मुजफ्फपुर पहिलो क्रस बोर्डर प्रसारण लाइन सञ्चालनमा छ। बुटवल—गोखरपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ। नेपालको चमेलियादेखि भारतको उत्तराखण्डस्थित जैलिजिवीसम्म २२० केभी प्रसारण लाइन निर्माण गर्न दुई देशबीच सहमति जुटिसकेको छ।
त्यस्तै, भारतका बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्यसँग जोडिएका १३२, ३३ र ११ केभीका प्रसारण लाइन पनि रहेका छन्। प्राधिकरणले हाल ४०० र १३२ केभी प्रसारणलाइन संरचना प्रयोग गरी भारत एवम् बंगलादेशतर्फ दैनिक रुपमा एक हजार मेगावाट विद्युत निर्यात गरिरहेको छ।


