चीनको स्वशासित तिब्बतको न्यालम प्रशासनले आवश्यकताअनुसार कन्टेनर आउजाउमा कडाइ गरेपछि नेपाली व्यवसायीले किनेका करोडौं रुपैयाँ बराबरका वस्तु बाटोमा अलपत्र परेका छन् । रसुवा नाका बन्द भएपछि गत असारदेखि नै चिनियाँ क्षेत्रमा रोकिएका सामान नेपाल भित्रन सकेका छैनन् ।
रसुवा नाका खुलेको छैन भने तातोपानीबाट ढुवानीका साधन न्यून संख्यामा मात्र आउजाउ गर्न दिइएको छ । ढुवानीका कन्टेनर नछाडेका कारण दसैं–तिहारका लागि किनिएका सामानसमेत नेपाल भित्रन पाएका छैनन् । दसैंअघि उत्तरी नाकामध्ये एक मात्र विकल्प तातोपानी थियो । तर लगातार दुई महिनाभन्दा बढी समय अरनिको राजमार्गको कोदारी खण्ड सडक अवरुद्ध भयो । यसले फलफूल बोकाएर भन्सार यार्डसम्म ल्याउनुपर्यो । अन्य मालवस्तु भने उतै गोदाममा राखिएको थियो ।
अहिले सडक सञ्चालन भए पनि तिब्बतको नेलाम प्रशासनले मालवाहक कन्टेनर सीमित संख्यामा छोडेका कारण नेपाली व्यापारी मारमा परेका छन् । चीनको ल्हासा, नेलाम, केरुङलगायत सहरमा आफूहरूका सामान अलपत्र भएको नेपाल हिमाल सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गंगाबहादुर घिमिरे (सागर) ले जनाए । कतिपय मालवस्तु कन्टेनरमा लोड गरेर राखिएको छ भने धेरैजसो गोदाममा छन् । रसुवा नाका बन्द भएपछि केरुङमा गोदाम गरेका कतिपय सामान उतै अलपत्र छन् । तातोपानीतर्फ ल्याइएका सामान पनि भित्रन सकेका छैनन् ।
तातोपानी नाकामा निर्भर हुन कठिन भएपछि व्यवसायीले मुस्ताङको कोरला भन्सार नाका पनि प्रयोग गर्न थालेका छन् । यद्यपि जाडो मौसममा हिउँ पर्ने, ढुवानी र आउजाउ गर्न पनि निकै टाढा हुने भएकाले व्यवसायीले असहज महसुस गरेका छन् । तातोपानी र रसुवा बन्द भएका कारण दसैंअगावै कोरलाबाट इलेक्ट्रिक भेहिकलसहित व्यापारिक मालवस्तु आयात गरिएको थियो । अहिले पनि कोरला नाका नियमित सञ्चालनमा छ ।
सीमापार वाणिज्य संघले नेपालस्थित चिनियाँ दूतावासलाई पनि कन्टनेरको संख्या बढाएर व्यापार सहजीकरणका लागि पहल गरिदिन लिखित अनुरोध गरेको छ ।
दिनको ४० देखि ५० कन्टेनर सामान आयात भए मात्र व्यापारीको सामान समयमा काठमाडौं भित्रन सक्ने उनको अनुमान छ । अहिले दिनको १५–२० कन्टेनर मात्र सामान छाड्ने गरिएको घिमिरेले जनाए । व्यवसायीको मागअनुसार सामान आयात नभएको तातोपानी भन्सार अधिकृत रमेश शाहले बताए ।


