Banijya News

उद्योगको लाइन काटिँदा जलविद्युत् आयोजनाको उत्पादन कटौती

1
1.2K Shares

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत बिजुली उपयोग गरेर बक्यौता नतिरेका उद्योगहरूको लाइन काट्न थालेपछि त्यसको प्रत्यक्ष असर जलविद्युत् आयोजनाहरूको उत्पादनमा पर्न गएको छ। खपत घटेका कारण देखाउँदै प्राधिकरणले निजी क्षेत्रका जलविद्युत् कम्पनीहरूलाई उत्पादन घटाउन भनेपछि उनीहरू क्षमताभन्दा निकै कम बिजुली उत्पादन गर्न बाध्य भएका छन्।

नेपाल विद्युत् प्राधिकरणले खरीद गर्न नमान्दा लमजुङस्थित ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत् आयोजनाले क्षमताभन्दा निकै कममात्र बिजुली उत्पादन गरिरहेको छ ।

‘अहिले ८ देखि १० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ,’ आयोजनाका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले आर्थिक अभियानसँग भने । ‘उद्योगहरूमा लाइन काटेर बिजुली खपत घटेपछि प्राधिकरणले उत्पादन घटाउन भनेकाले उत्पादन कटौती गरिएको हो ।’

डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत विद्युत् उपयोग गरेर बक्यौताबापतको रकम नतिरेको भन्दै प्राधिकरणले विभिन्न उद्योगको लाइन काटेपछि उसले विभिन्न जलविद्युत् कम्पनीहरूलाई उत्पादन घटाउन भनेको सम्बद्ध आयोजना प्रवर्द्धकहरूले बताएका छन् ।

प्राधिकरणले कात्तिक ४ गतेदेखि पटकपटक गरेर २५ उद्योगहरूको लाइन काटेको थियो । लाइन काटिएका सबै उद्योगको गरी ५ अर्ब ४८ करोड ४५ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले दाबी गरेको छ । यद्यपि, उद्योगीहरूले बिजुली उपभोगको प्रमाण नदिएकाले दाबी बक्यौता तिर्न अस्वीकार गर्दै आएका छन् ।

उत्पादन घटाउन भनिएका परियोजनामा प्राधिकरणले ‘कन्टिन्जेन्सी’ परियोजनाको वर्गमा राखेकाहरू छन् । सुपर दोर्दीलाई पनि प्राधिकरणले विगत ३ वर्षदेखि ‘कन्टिन्जेन्सी’को वर्गमा राखेको रायमाझीले बताए । यो वर्गमा राख्नुको अर्थ हो– प्राधिकरणले यस्तो परियोजनाबाट आवश्यक परेका बेला आवश्यक मात्रामा मात्र विद्युत् खरीद गर्छ ।

प्राधिकरणसँग भएको सम्झौताअनुसार आयोजनासँग प्राधिकरणले पहिलो वर्ष ३३ प्रतिशत, दोस्रो वर्षमा ४७ र यस वर्ष ८० प्रतिशत बिजुली खरीद गर्नुपर्ने थियो । तर, अहिले उत्पादन नै घटाउनु परेकाले यस वर्ष ५० प्रतिशत पनि बिजुली खरीद हुन नसक्ने देखिएको रायमाझीले बताए ।

‘प्राधिकरणले उद्योगहरूमा लाइन काट्नुअघि आयोजनाले २२ मेगावाट जति बिजुली उत्पादन गरिरहेकोमा अहिले कुनै दिन ८ मेगावाट, कुनै दिन १० मेगावाट त कुनै दिन पलान्ट नै बन्द गर्नुपर्ने अवस्था छ,’ उनले आर्थिक अभियानसँग भने । २५ मेगावाटको अपर दोर्दी, ३० मेगावाटको न्यादिन हाइड्रोपावर लगायत अन्य केही आयोजनाले अहिले यस्तो समस्या भोगिरहेको उनले बताए ।

निजीक्षेत्रका आयोजनाहरूबाट अहिले केकति मात्रामा उत्पादित बिजुली खेर गइरहेको छ भन्ने तथ्यांक संकलन भइहरहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले बताएको छ ।

इप्पानले ८४ मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना र २५ मेगावाट क्षमताको अपर दोर्दी जलविद्युत् आयोजनाको पनि उत्पादन कटौती गरिएको जानकारी दिएको छ ।

इप्पानका अनुसार शुक्रवार करीब २०० मेगावाट विद्युत् खेर गएको थियो । शुक्रवारसम्म जुन आयोजनामा उत्पादन बन्द भएको थियो अहिले ती आयोजनामा उत्पादन शुरू भएको र थप आयोजनामा उत्पादन बन्द भएकाले यकिन तथ्यांक संकलनको काम भइरहेको इप्पानले बताएको छ ।

लाइन काटिएपछि घराना फुड्स र गोयन्का फुड्सले प्राधिकरणले दिएको किस्ताबन्दी सुविधाअनुसार बक्यौताबापतको किस्ता बुझाएपछि यी उद्योगमा लाइन जोडिएको छ । यस हिसाबले अझै पनि २३ उद्योगमा लाइन काटिएको छ ।

प्राधिकरणले पनि अहिले १०० मेगवाटभन्दा बढी बिजुली खेर गइरहेको स्वीकारेको छ । ‘अहिलेको १३० मेगावाटको हाराहारीमा बिजुली खेर गइरहेको छ,’ प्राधिकरणका प्रवक्ता राजन ढकालले भने । ‘यो पनि उद्योगमा बिजुली काटिएको कारणले खेर गएको नभई अहिले भएको वर्षात्का कारण खोलामा पानीको बहाव बढेर पूर्ण उत्पादन गर्न सक्ने भएकाले खेर गएको हो ।’

उनले उद्योगमा लाइन काटिएकाले विद्युत् खपत घटेका कारण आयोजनाहरूलाई उत्पादन बन्द गर्न नभनिएको दाबी गरे । ‘वर्षाका कारण मागभन्दा बढी उत्पादन हुने अवस्था आएपछि कतिपय आयोजनालाई उत्पादन नगर्न भनिएको हो,’ ढकालले भने ।

प्राधिकरणका अनुसार अहिले कुल विद्युत् उत्पादन ३ हजार मेगावाट छ भने पिकआवरको आन्तरिक डिमान्ड १ हजार ९०० मेगावाट छ । करीब १ हजार मेगावाट विद्युत् निर्यात भइरहेको छ ।

उद्योगमा लाइन काटिएको र यही समयमा वर्षा पनि भएकाले बिजुली उत्पादन बढ्न गई उत्पादित बिजुली खेर जाने अवस्था आएको इप्पानका उपमहासचिव प्रकाशचन्द्र दुलालले बताए । वर्षा कम भएर नदीमा पानीको बहाव कम भएपछि विस्तारै विद्युत् माग बढ्ने र उत्पादन पनि घट्ने भएकाले यो समस्या दीर्घकालका लागि नरहने उनले बताए । उनका अनुसार विशेष गरी यतिबेला औद्योगिक कोरिडोरमा विद्युत् आपूर्ति हुने आयोजनाहरूको उत्पादन कटौती भएको छ ।

1

Scroll to Top