Banijya News

कर्णालीको यातायात क्षेत्रबाट ७ करोड बढी राजस्व संकलन

1
1.3K Shares

चालु आर्थिक वर्ष २०८२/०८३ को असोज महिनासम्ममा कर्णाली प्रदेश सरकार अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरूले ७ करोड ८ लाख ७४ हजार ३७१ रुपैयाँ राजस्व संकलन गरेका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गत तीनवटा यातायात व्यवस्था कार्यालय रहेका छन् ।

तीनमध्ये सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयले राजस्व संकलनमा अग्रस्थान ओगटेको छ । सुर्खेत कार्यालयले कुल ६ करोड ७ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ, जुन समग्र संकलनको करिब ८५.७३ प्रतिशत हो । यसले सुर्खेत प्रदेशको सबैभन्दा ठुलो राजस्व संकलन केन्द्रको रूपमा स्थापित भएको देखाउँछ ।

यसैगरी, रुकुम पश्चिमको चौरजहारीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले असोजसम्ममा ६२ लाख ३० हजार १०६ रुपैयाँ राजस्व संकलन गरेको छ, जुन कुल संकलनको करिब ८.७९ प्रतिशत हो । जुम्लास्थित यातायात व्यवस्था सेवा कार्यालयले भने ३८ लाख ७८ हजार २५८ रुपैयाँ संकलन गरी कुल राजस्वमा करिब ५.४७ प्रतिशत योगदान पुर्‍याएको छ ।

मन्त्रालयका अनुसार राजस्वका विभिन्न शीर्षकहरूमध्ये सवारी साधन कर सबैभन्दा ठुलो योगदानकर्ता बनेको छ । हालसम्म तीनवटै कार्यालयले ५ करोड ९४ लाख २९ हजार ४११ रुपैयाँ यसै शीर्षकबाट संकलन भएको छ, जुन कुल राजस्वको ८३.८४ प्रतिशत हो । सवारी साधन कर प्रदेशको यातायात राजस्वको प्रमुख आधारको रूपमा रहेको मन्त्रालयले जनाएको छ ।

राजस्वको दोस्रो ठुलो स्रोत चालक अनुमति पत्र तथा सवारी दर्ता कितावसम्बन्धी दस्तुर रहेको छ, जसबाट ८९ लाख २६ हजार ७१० रुपैयाँ (१२.५९ प्रतिशत) संकलन भएको छ । यातायात क्षेत्रको आम्दानी शीर्षकमा २३ लाख ४ हजार ७५० रुपैयाँ (३.२५ प्रतिशत) संकलन भएको छ ।

प्रशासनिक दण्ड जरिवाना र जफतबाट भने सबैभन्दा कम २ लाख १० हजार ५०० रुपैयाँ (०.२९ प्रतिशत) मात्र संकलन भएको छ ।

1

Scroll to Top