व्यवसायलाई सुरक्षित र व्यवस्थित तुल्याउन भैरहवा जिल्ला प्रशासनले क्यासिनो सञ्चालकलाई कानुनले तय गरेका शर्त र मापदण्ड पालना गर्न चेतावनी दिएको छ । प्रशासनले व्यवसाय सञ्चालनका लागि क्यासिनो नियमावली २०८२ ले तय गरेका सर्त र मापदण्ड पूरा गर्न व्यवसायीलाई सचेत गराएको हो । सर्त र मापदण्ड पालना नहुँदा व्यावसायिक वातावरण खलबलिने प्रशासनको भनाइ छ ।
जिल्ला प्रशासन र राजस्व अनुसन्धान कार्यालयले क्यासिनोमा नेपालीको प्रवेशलाई लिएर चासो देखाएका छन् । क्यासिनो नियमावलीले नेपालीको प्रवेशमा रोक लगाए पनि रुपन्देहीका क्यासिनोमा भारतीय आधार कार्ड बनाएर नेपाली छिराउने गरिएको आशंका जिल्ला प्रशासनले गरेको छ ।
सबैतिर गुनासो बढेपछि प्रशासनले क्यासिनोभित्र प्रवेश गर्नेको विवरण माग गरेको छ । व्यवसायीले यस्तो विवरण बुझाउन आनाकानी गरेको प्रशासनको भनाइ छ । नियमावलीले क्यासिनोले ६ महिनाको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने व्यवस्था गरेको छ ।
जिल्ला प्रशासनले गत बुधबार सरकारी सरोकारवाला, पर्यटन व्यवसायी र क्यासिनो सञ्चालकको बैठक आयोजना गरेर संवैधानिक अधिकार उपयोग गर्दै व्यवसायमा लगानी गरे पनि नीतिनियम पालना गर्न चेतावनी दिएको थियो ।


