Banijya News

कृषि कर्जाको आधा हिस्सा राजधानीमा, वास्तविक किसान ऋणबाट वञ्चित

1
1.2K Shares

नेपालमा कृषि क्षेत्रको प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाबाट दिइने कृषि कर्जाको ठूलो हिस्सा खेतीयोग्य जमिन अत्यन्तै न्यून भएको काठमाडौं जिल्लामा सीमित भएको पाइएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार कर्जा वितरणमा चरम असमानता रहेको पाईएको छ । जसले वास्तविक कृषकभन्दा पहुँचवाला र व्यवसायीको हातमा कर्जा पुगेको आशंका बढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार, बागमती प्रदेशमा प्रवाह भएको कुल कृषि कर्जामध्ये आधाभन्दा बढी अर्थात करिब ५२.६ प्रतिशत हिस्सा काठमाडौं जिल्लामा प्रवाह भएको छ । यसले बागमती प्रदेशको कुल कृषि कर्जामा काठमाडौंको हिस्सा सबैभन्दा धेरै रहेको देखाउँछ । कर्जा प्रवाह कृर्षि क्षेत्रफल र उत्पादनको योगदान अत्यन्तै न्यून रहेको जिल्लामा ।

कर्जाको असमान वितरणले वास्तविक कृषकभन्दा पहुँचवाला तथा गैर–किसान व्यवसायीको हातमा सहुलियत दरको कृषि कर्जा पुगेको आशंका बढेको छ । राष्ट्र बैंकको बागमती प्रदेशको जिल्लागत कृषि कर्जासम्बन्धी तथ्याङ्कले यो यथार्थलाई पुष्टि गर्छ। कृषिको प्रचुर सम्भावना बोकेको चितवन जिल्लामा कूल कर्जाको २३.१ प्रतिशत मात्रै प्रवाह भएको छ, जुन काठमाडौंको तुलनामा आधाभन्दा कम हो। यसको विपरीत, अधिकांश जनसङ्ख्या कृषिमा आश्रित रहेका दोलखा र रसुवा जिल्लाहरूमा कुल कर्जाको ०.५ प्रतिशत र रामेछाप मा ०.६ प्रतिशत मात्रै पुगेको छ।

आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनअनुसार बागमती प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा अघिल्लो वर्षको तुलनामा १.३ प्रतिशतले वृद्धि भई एक खर्ब २१ अर्ब पुगेको छ। यद्यपि, कर्जा वृद्धि भए पनि यस प्रदेशमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला) ले ढाकेको क्षेत्रफल ५.८ प्रतिशतले घटेको छ । यसले कर्जा उत्पादन वृद्धिमा प्रभावकारी हुन नसकेको वा कर्जाको सदुपयोग नभएको संकेत गर्छ । धान बाली, गहुँ बाली, र तेलहन जस्ता महत्वपूर्ण बालीहरूले ढाकेको क्षेत्रफलमा उल्लेख्य ह्रास आएको छ ।

सर्वाधिक कृषि कर्जा लगेको काठमाडौँले कृषि उत्पादनमा गरेको योगदान भने अत्यन्तै न्यून देखिन्छ । काठमाडौंको खाद्य तथा अन्य बाली उत्पादनको हिस्सा ३.६ प्रतिशत मात्रै छ । कंक्रिटले भरिएर खेतीयोग्य जमिन तीव्र रुपमा घटिरहेको काठमाडौंमा यति ठूलो रकम कृषि प्रयोजनका लागि प्रवाह हुनुले यस कर्जाको दुरुपयोग भइरहेको भैरहेको छ ।

यस प्रदेशमा पशुपन्छी तथा माछा उत्पादनमा पनि ह्रास आएको छ। प्रतिवेदनअनुसार दुध उत्पादन १.२ प्रतिशत, मासु उत्पादन २.९ प्रतिशत र माछा उत्पादन २.८ प्रतिशतले घटेको छ। जिल्लागत रूपमा हेर्दा काभ्रेपलाञ्चोक जिल्ला दुध उत्पादनमा (२२.३ प्रतिशत) र चितवन मासु (१८.६ प्रतिशत) तथा अण्डा उत्पादन (४२.२ प्रतिशत) मा अगाडि छन्, तर यी जिल्लाहरूमा काठमाडौंको तुलनामा कम कर्जा प्रवाह भएको छ।

यो तथ्याङ्कले नेपाल राष्ट्र बैंक र सरकारलाई कृषि कर्जा वितरण प्रणालीको तत्काल पुनरावलोकन गर्नुपर्ने र कर्जाको प्रवाहलाई वास्तविक कृषक तथा उत्पादनको उच्च सम्भावना भएका जिल्लाहरूमा निर्देशित गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

1

Scroll to Top