Banijya News

बैंकहरुद्धारा निजी क्षेत्रमा ५५ खर्ब रुपैयाँ कर्जा प्रवाह

1
1.1K Shares

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा ५५ खर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार असोजसम्ममा कुल कर्जा प्रवाह ५५ खर्ब ८० अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षका तीन महिनामा निजी क्षेत्रको कर्जा प्रवाह १.५ प्रतिशतले मात्र बढेको छ l निजी क्षेत्रले साउनदेखि असोजसम्ममा ८२ अर्ब ९३ करोड रुपैयाँ मात्र कर्जा लिएका छन् । अघिल्लो वर्ष यो अवधिमा निजी क्षेत्रमा जाने कर्जा २.५ प्रतिशत बढेको थियो । गत वर्ष तीन महिनामा १ खर्ब २८ अर्ब ६५ करोड कर्जा प्रवाह भएको थियो ।

अर्थतन्त्रमा देखिएको सुस्तता र भदौ २३–२४ को जेनजी आन्दोलनका कारण लगानीको वातावरण नबन्दा कर्जा प्रवाह सुस्त भएको हो । वार्षिक बिन्दुगत आधारमा भने यो असोजसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको केन्द्रीय बैंकको तथ्यांक छ ।

यस अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंक र वित्त कम्पनीहरूले १.६ प्रतिशतका दरले मात्रै कर्जा प्रवाह बढाएका छन् । विकास बैंकहरूको कर्जा प्रवाह झनै ०.५ प्रतिशतमा खुम्चिएको छ ।

गत साउनमा ०.१ प्रतिशतले घटेको कर्जा प्रवाह भदौमा ०.९ प्रतिशतले बढेको थियो । जबकी गत आवको साउनमा ०.३ प्रतिशतले बढेको कर्जा प्रवाह सोही आवको भदौमा १.४ प्रतिशतले बढेको थियो ।

कर्जा लिन सहज हुने गरी बैंकको ब्याजदर पछिल्लो समय घट्दै गइरहेको छ । तर, अर्थतन्त्रको सुस्तता तथा निजी क्षेत्रको मनोबल घटेका कारण कर्जाको माग नै हुन नसकेको बैंकरहरू बताउँछन् ।

राष्ट्र बैंकका अनुसार, २०८२ असोजमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.५० प्रतिशत, विकास बैंकहरूको ८.७७ प्रतिशत र वित्त कम्पनीहरूको १०.१८ प्रतिशत रहेको छ । २०८१ असोजमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.३३ प्रतिशत, विकास बैंकहरूको १०.६३ प्रतिशत र वित्त कम्पनीहरूको ११.८६ प्रतिशत थियो ।

ब्याजदर घटे पनि कर्जा प्रवाह बढ्न नसक्नुको मुख्य कारण अर्थतन्त्रको सुस्तता नै रहेको बैंकरहरू बताउँछन् । असोजसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३ प्रतिशत (२ खर्ब १८ अर्ब ७२ करोड रुपैयाँ) ले बढेर ७४ खर्ब ८२ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २.६ प्रतिशत (१ खर्ब ७० अर्ब रुपैयाँ) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३ प्रतिशतले बढेको छ ।

यता २०८२ असोजमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.५० प्रतिशत, विकास बैंकहरूको ८.७७ प्रतिशत र वित्त कम्पनीहरूको १०.१८ प्रतिशत रहेको छ । २०८१ असोजमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.३३ प्रतिशत, विकास बैंकहरूको १०.६३ प्रतिशत र वित्त कम्पनीहरूको ११.८६ प्रतिशत रहेको थियो । गत आवको तुलनामा चालु आवमा कर्जाको ब्याजदर सस्तो भए पनि कर्जा भने बढ्न नसकेको हो ।

1

Scroll to Top