अर्थतन्त्रको दीर्घ सुस्तता र अन्य कर्जा असुलीमा समस्या बढ्दै गएपछि बैंकहरूले सेयर बजारतर्फ कर्जा विस्तार बढाउन थालेका छन् । घर–जग्गा तथा व्यवसायिक कर्जामा असुली चुनौती बढेपछि बैंकहरूले सुरक्षित र शीघ्र असुलीयोग्य क्षेत्र खोज्दै सेयर धितो कर्जालाई प्राथमिकता दिन थालेका हुन् ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्म वाणिज्य बैंकहरूले सेयर धितो कर्जा ४४.३८ प्रतिशतले बढाएका छन् भने राष्ट्रिय स्तरका विकास बैंकहरूले ४.५ प्रतिशत वृद्धि गरेका छन् । अन्य क्षेत्रमा कर्जाको माग न्यून रहँदा सेयर कर्जा विस्तार बैंकहरूको मुख्य रणनीति बनेको बैंकरहरूको भनाइ छ ।
यही क्रममा केही दिनअघि एनआइसी एसिया बैंकले ५० करोड रुपैयाँसम्मको सेयर धितो कर्जा प्रतिस्पर्धी दरमा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गर्यो । योजनाअनुसार व्यक्तिगत लगानीकर्ताले २५ करोड र संस्थागत लगानीकर्ताले ५० करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछन् । सेयर कर्जा विस्तारमा प्रतिस्पर्धा बढ्दै गएपछि अन्य बैंकहरू पनि यस्तै योजना ल्याउने तयारीमा छन् ।
नेपाली कर्जाबजार सुस्त भएको अवस्थामा सेयर कर्जा तुलनात्मक रूपमा जोखिमरहित मानिएको छ । घर–जग्गा धितोका कर्जा असुली हुन ढिलो लाग्ने, लिलामीमा कानुनी झन्झट हुने तथा गैरबैंकिङ सम्पत्ति बढ्ने समस्याले बैंकहरू धेरै तनावमा छन् । सेयर धितो कर्जा भने छिटो मूल्यांकन, सजिलो प्रक्रियासहित असुलीयोग्य भएकाले सुरक्षित विकल्प मानिएको हो ।
साउन–असोजमा मात्र २० वाणिज्य बैंकमध्ये १९ वटाले १ खर्ब २१ अर्ब ५८ करोड २८ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा यो रकम ८४ अर्ब २१ करोड ४ लाख रुपैयाँ थियो ।
सबैभन्दा बढी सेयर कर्जा प्रवाह गर्नेमा नबिल बैंक अग्रस्थानमा छ । बैंकले चालु आवको असोजसम्म १६ अर्ब २६ करोड ९० लाख रुपैयाँ सेयर कर्जा दिएको छ । जुन गत वर्षको तुलनामा ५८.३८ प्रतिशत वृद्धि हो । ग्लोबल आइएमई बैंकले पनि १७ प्रतिशत वृद्धि गर्दै आफ्नो सेयर कर्जा १२ अर्ब ५६ करोड रुपैयाँमा पुर्याएको छ ।
उता विकास बैंकहरूमा मुक्तिनाथ विकास बैंक ३ अर्ब ८२ करोड ८० लाख रुपैयाँसहित शीर्षमा छ भने वृद्धिदरका दृष्टिले सांग्रिला डेभलपमेन्ट बैंक अगाडि छ ।
नेपाल एसबीआई बैंक सेयर कर्जा प्रवाहमा सबैभन्दा तल रहेको छ भने एनआइसी एसियाको कर्जा १६.०७ प्रतिशतले घटेको छ, यद्यपि नयाँ योजना ल्याइसकेकाले यसमा पुनः वृद्धि हुने अपेक्षा गरिएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने अझै सेयर कर्जामा प्रवेश गरेको छैन ।वाणिज्य बैंक असोज २०८२ (रू. लाख) असोज २०८१ (रू. लाख) फरक (प्रतिशत) नबिल बैंक १६,२६९.०० १०,९६४.४१ ४८.३८ ग्लोबल आइएमई १२,५६५.८३ १०,७३९.८३ १७.०० कुमारी १०,५४५.६४ ७,७३७.१७ ३६.३० प्राइम ९,८०७.२० ५,५१६.३८ ७७.७८ सिद्धार्थ ८,९५९.०९ ७,७३९.६९ १५.७६ लक्ष्मी सनराइज ७,७९७.५४ ४,१०४.३७ ८९.९८ नेपाल ७,२६३.२३ ७,५३५.९७ -३.६२ राष्ट्रिय वाणिज्य ६,९२२.०३ ४,१४२.०६ ६७.१२ सिटिजन्स ६,६१८.१९ ५,५७३.२७ १८.७५ प्रभु ५,९६५.७२ ३,६४४.४६ ६३.६९ कृषि विकास ५,९१२.५० १,६७९.६९ २५२.०० इनभेष्टमेन्ट मेगा ३,८०५.७४ ३,०८५.८७ २३.३३ एभरेष्ट ३,६७४.०० २,१२५.८८ ७२.८२ माछापुच्छ्रे ३,५३२.५२ ९००.०५ २९२.४८ एनएमबी ३,०२०.४७ १,६२३.८८ ८६.०० सानिमा २,९६७.५४ १,९११.२७ ५५.२७ हिमालयन २,९५०.७३ १,७८३.४३ ६५.४५ एनआइसी एसिया २,४७५.०३ २,९४९.०९ -१६.०७ नेपाल एसबीआई ५३०.८४ ४५३.६८ १७.०१ स्ट्याण्डर्ड चार्टड NA NA NA कुल १,२१,५८२.८४ ८४,२१०.४५


