Banijya News

घरजग्गा कारोबारबाट हुने पुँजीगत लाभकरमा पाँच करोडको गिरावट

1
1.2K Shares

चालु आर्थिक वर्षको कात्तिकसम्ममा घरजग्गा कारोबारबाट असुली गरिने पुँजीगत लाभकर पाँच करोडले घटेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवको कात्तिकसम्ममा ४ अर्ब ५१ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । यो वर्ष कात्तिकसम्म ४ अर्ब ४४ करोड मात्र असुली भएको छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आवको कात्तिकसम्म देशभर घरजग्गा कारोबार र राजस्व असुली दुवैमा कमी आएको छ । यसैको प्रभाव पुँजीगत लाभकरमा पनि देखिएको हो ।

विभागका अनुसार गत आवका चार महिनाका तुलनामा चालु आवको सोही अवधिमा राजस्व संकलन र कारोबार दुवैमा ६/६ प्रतिशतले कमी आएको छ । गत आवको कात्तिकसम्ममा १२ अर्ब ७० करोड राजस्व संकलन भएको थियो । चालु आवमा ११ अर्ब ९१ करोडमात्र संकलन भएको छ । यो गत आवको तुलनामा ६.२२ प्रतिशतले कम हो ।

यस्तै, गत आवको कात्तिकसम्ममा ४ लाख ३९ हजार थान घरजग्गा कारोबार भएको थियो । चालु आवमा यो संख्या ४ लाख १४ हजार मात्र छ । यो गत आवभन्दा २५ हजार थान अथवा झण्डै ६ प्रतिशतले कम हो । विभागका अनुसार असोजसम्म ८३ करोड रुपैयाँले राजस्व घटेकामा कात्तिकमा आउँदा ७९ करोड भएको छ ।

विभागका अनुसार जग्गाको वास्तविक मूल्य बढे पनि कारोबार नै कम भएका कारण पुँजीगत लाभकरमा सामान्य कमी आएको हो । घरजग्गा कारोबारमा समय अनुसार लाभकर लाग्ने व्यवस्था छ । कुनै पनि घरजग्गा खरिद गरेको ५ वर्षभित्र किनबेच गर्दा हुने लाभमा ५ प्रतिशत लाभकर बुझाउनुपर्छ । घरजग्गा खरिद गरेको ५ वर्षपछि किनबेच गर्दा हुने लाभमा भने साढे २ प्रतिशतका दरले मात्र लाभकर तिर्नुपर्ने कानुनी व्यवस्था छ ।

यो कानुनी व्यवस्था अनुसार घरजग्गा कारोबार ५ वर्षभित्रमा भइरहे लाभकर बढी असुली हुने सम्भावना हुन्छ । सरकारले घरजग्गा कारोबारमा रजिष्ट्रेशन शुल्कसहित करिब आधा दर्जन शीर्षकमा अन्य कर उठाउँछ । यसमध्ये रजिष्ट्रेशनपछि सबैभन्दा बढी राजस्व पुँजीगत लाभकरबाट असुल हुने गरेको छ ।

गत आवमा मासिक औषत ४ अर्ब ८ करोड रुपैयाँका दरले राजस्व असुली भएको थियो । यस्तै, गत आवमा पुँजीगत लाभकर औषत प्रतिमहिना एक अर्ब ५१ करोड रुपैयाँका दरले उठेको थियो ।

1

Scroll to Top