नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड ५० लाखको सहयोग प्रदान गरेको छ ।
अर्थ मन्त्रालयमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघई, सञ्चालक कमलेशकुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा एक करोड ५० लाख रुपैयाँको चेक अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देशभरका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायत कार्यको लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो ।
हस्तान्तरण समारोह समारोहमा बोल्दै कम्पनीका सञ्चालक समितिका अध्यक्ष संघईले नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए ।
जेनजीे प्रदर्शन र आन्दोलनको क्रममा सार्वजनिक भौतिक संरचनामा ठूलो क्षति पुगेको र यसको पुनर्निर्माणमा सहयोग गर्न पाउँदा आफू हर्षित भएको बताए ।


