सरकारले विभिन्न सात उद्योगलाई फलाम, ग्रेनाइट र चुनढुंगा उत्खनन् गर्न सरकारी जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले सात उद्योगलाई सरकारी जग्गा प्रयोग गर्न दिने निर्णय गरेको हो । अहिलेसम्म वन मन्त्रालयले उद्योगलाई जग्गा प्रयोग गर्न रोकेको थियो ।
मन्त्रिपरिषद्को निर्णय अनुसार पाँच उद्योगलाई चुनढुंगा उत्खनन् गर्न राष्टिय वन प्रयोग गर्न अनुमति दिइएको छ । त्यसअनुसार शक्ति मिनरल्स प्रालिले पाल्पा माथागढी गाउँपालिका–७ धनुषामा रहेको राष्ट्रिय वनको २१.४१ हेक्टर जग्गामा चुनढुंगा उत्खनन् गर्न पाउने भएको छ ।
यस्तै, विशक्ति होल्डिङ्स प्रालिले चुनढुंगा उत्खनन् कार्यकै लागि चितवन राप्ती नगरपालिका–१३ स्थित राष्ट्रिय वनको २०.१४ हेक्टर जग्गा प्रयोग गर्न पाउने छ । रिद्धिसिद्धि सिमेन्ट लिमिटेडलाई चुनढुंगा उत्खनन् गर्न मकवानपुरको भीमफेदी गाउँपालिका–७ स्थित राष्ट्रिय वनको २१.६३ हेक्टर जग्गा प्रयोग गर्न र बाबा माइन्स एन्ड मिनरल्स प्रालिाई चुनढुंगा उत्खनन्का लागि भीमफेदी गाउँपालिका–५ मा रहेको राष्ट्रिय वनको ४.९९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरिएको छ ।
यस्तै, केके लाइम्स एन्ड इन्डस्ट्रिजलाई चुनढुंगा उत्खनन् गर्न उदयपुर चौदण्डीगढी नगरपालिका–८ मा रहेको राष्ट्रिय वनको २ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि भएको छ । यसैगरी बिग प्लस मिनरल्सलाई ग्रेनाइट उत्खनन् गर्न मकवानपुरको भीमफेदी गाउँपालिका–५ स्थित राष्ट्रिय वनको ४.४८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । यस्तै, अन्नपूर्ण मिनरल्स प्रालिलाई फलाम उत्खनन् गर्न मकवानपुरको बागमती गाउँपालिका–६ मा रहेको राष्ट्रिय वनको ४.९६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।


