सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सन् २०२५ को प्रतिष्ठित “बैंक अफ दि इयर” अवार्ड जितेको छ।
बेलायतको लण्डनबाट प्रकाशित विश्वविख्यात फाइनान्सियल टाइम्सको पत्रिका ‘दि बैंकर’ ले हरेक वर्ष प्रदान गर्ने यो अवार्ड सिटिजन्स बैंकले लगातार दोस्रो वर्ष प्राप्त गरेको हो।
गत वर्ष (सन् २०२४) पनि यही अवार्ड जितेर कीर्तिमान बनाएको सिटिजन्स बैंकले यस वर्ष पनि नेपालका सबै बैंकहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्दै पुनः यो सम्मान हात पारेको छ।
बिहीबार लण्डनमा आयोजित भव्य समारोहमा बैंकका अध्यक्ष डा. प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले यो अवार्ड ग्रहण गरेका थिए।
‘दि बैंकर’ ले बैंकको वित्तीय प्रदर्शन, रणनीतिक दूरदृष्टि, ग्राहक सेवा, डिजिटल नवप्रवर्तन, जोखिम व्यवस्थापन र सामाजिक उत्तरदायित्व लगायतका मापदण्डहरूमा उत्कृष्ट अंक प्राप्त गरेका बैंकहरूलाई मात्र यो अवार्ड प्रदान गर्ने गर्छ।
सिटिजन्स बैंकले पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङ, विस्तार, वित्तीय समावेशीकरण र दिगो बैंकिङमा उल्लेखनीय प्रगति गरेको भन्दै अन्तर्राष्ट्रिय जगतमा समेत प्रशंसा भइरहेको छ।
लगातार दोस्रो पटक यो अवार्ड जितेसँगै सिटिजन्स बैंक नेपालको निजी क्षेत्रको अग्रणी तथा सबैभन्दा भरपर्दो बैंकको रूपमा थप स्थापित भएको छ।


