यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ। कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३५ हजार ४ सय २२ मेट्रिक टन धान उत्पादन भएको छ।
आठ हजार ५ सय १२ हेक्टरमा सावित्री, राम, सुक्खा ३, मकवानपुर १, सावा मन्सुली, कालो मसिनो, हाइब्रिड (वर्णशंकर) जातका धान उत्पादन भएका हुन्। गत आर्थिक वर्षमा आठ हजार १ सय २० हेक्टरमा खेती गरिएकामा ३३ हजार २ सय ९२ मेट्रिक टन उत्पादन भएको थियो।
जिल्लाको १३ हजार ५ सय ५१ हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको उक्त कार्यालयका सूचना अधिकारी किरण परियारले बताए। छ हजार ३ सय ४७ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ भने सात हजार २ सय ३६ हेक्टरमा मौसमी सिँचाइको व्यवस्था छ। हालैको बेमौसमी वर्षाले एक करोड बराबरको क्षति भएको उनले बताए।


