जेन–जी आन्दोलनपछि कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालेयता लामो समयदेखि काममा प्रगति नभएका १६ अर्ब २० करोड ६१ लाखका ५७ वटा ठेक्का तोडिएको छ । यसमा सबैभन्दा धेरै सडक विभागअन्तर्गत ३५ ठेक्का छन् । ती ठेक्काको रकम मात्र २ अर्ब ९ करोड ७९ लाख छ ।
जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत १९ ठेक्का तोडिसकिएको छ । यसअन्तर्गत सबैभन्दा ठूलो राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नदीमा बाँध बाँध्नेतर्फको ठेक्का तोडिएको हो । यसको ठेक्का रकम १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँ छ ।
समग्रमा सिँचाइअन्तर्गत १४ अर्ब १४ करोड ४८ लाख रुपैयाँ बराबरका १९ ठेक्का तोडिएको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले बताए ।
राष्ट्रिय गौरवकै बबई सिँचाइ आयोजनाअन्तर्गत ६ वटा प्याकेजको ठेक्का तोडिएको छ । यसको ठेक्का रकम १ करोड ७५ लाख रुपैयाँ छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधाम धनुषाअन्तर्गत ५ करोड १३ लाख रुपैयाँका १२ ठेक्का तोडिसकिएको विभागले जनाएको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत ४२ ठेक्का रुग्ण रहेकामा ३७ वटाको तोड्ने प्रक्रिया अघि बढाइएको छ ।
जसमा स्वास्थ्य भवन निर्माणतर्फ ३ वटाको ठेक्का तोडिसकिएको विभागका महानिर्देशक रवीन्द्र बोहराले बताए । जाजरकोटको प्रसूति कक्ष भवन, सुर्खेतको गुठु स्वास्थ्य चौकी भवन र जाजरकोटको मजकोट बडकुले स्वास्थ्यचौकी भवन निर्माण नभएपछि ठेक्का तोडिएको हो । तीन भवन निर्माणको ठेक्का रकम ३ करोड २५ लाख रुपैयाँ छ ।
‘विभागअन्तर्गतका ठेक्का भएर लामो समयसम्म काम नभएका योजनामा सूचना निकालेपछि केही निर्माण व्यवसायीले काम थालेकाले तोड्ने प्रक्रिया अघि बढाइएको छैन,’ बोहराले भने, ‘सहरी विकासकै स्वास्थ्य भवनतर्फ २४ रुग्ण योजना रहेकामा ३ वटाको सम्झौता तोडिसकिएको छ ।’ विभागअन्तर्गत ५ रुग्ण योजनाको ठेक्का किन नतोड्ने भन्दै सूचना निकाल्ने तयारी भइरहेको उनले सुनाए ।
सबैभन्दा धेरै रुग्ण ठेक्का सडक विभागअन्तर्गत छन् । त्यस्ता ठेक्काको संख्या २ सय ३५ छ । त्यसमा ३५ वटाको सम्झौता तोडिसकिएको विभागले जनायो । डिभिजन सडक कार्यालय काठमाडौंअन्तर्गत सबैभन्दा धेरै ५७ रुग्ण योजना रहेकामा अहिलेसम्म २५ वटाको ठेक्का तोडिसकिएको छ ।
कुल रुग्ण योजनामध्ये ८ वटाको ठेक्का रकम आउने क्रममा रहेको सडक विभागका सिनियर डिभिजनल इन्जिनियर मनीष साहले बताए । रकमसहित प्राप्त ठेक्काको संख्या २ सय २७ मात्र रहेको उनको भनाइ छ । प्राप्त रुग्ण ठेक्काको रकम १८ अर्ब ३३ करोड रहेको उनले जानकारी दिए । धेरै पटक मौका दिँदा पनि प्रगति नभएपछि र काम नसकिएपछि तोड्ने प्रक्रिया अघि बढाइएको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता श्यामबहादुर खड्काले बताए ।
‘खरिद सम्झौता गर्ने बेला दुई पक्षबीच विभिन्न सर्त राखिएको र ठेक्का लिने निकायले सर्त पालना गरे–नगरेकोबारे सम्पूर्ण अध्ययन गरी ठेक्का तोड्ने प्रक्रियामा लगिने प्रवक्ता खड्काले जनाए ।
सुरुको ठेक्काअनुसार भएको काम स्वीकार गरिसकेपछि त्यसपछि गर्न बाँकी नयाँ कामका लागि मात्र ठेक्का आह्वान गरिन्छ । सार्वजनिक खरिद ऐनको दफा ५९ को उपदफा (८) अनुसार निर्माण व्यवसायीबाट नियम उल्लंघन भए ठेक्का तोडेर बाँकी काम गर्न कति बजेट लाग्छ, त्यो निर्माण व्यवसायीबाट असुलउपर गर्ने प्रावधान रहेको उनले सुनाए । यो कानुनमा भए पनि व्यवहारतः लागू नभएको विभाग स्रोतले जनायो । तोडिएका ठेक्काको पनि छिटो काम सम्पन्न गर्नेतर्फ विभाग लागेको र ठेक्काको अवस्था हेरेर खरिद प्रक्रिया अघि बढाइने जनाइएको छ ।
ठेक्का तोडेपछि निर्माण व्यवसायी समस्यामा पर्ने गरेको गुनासो गर्दै आएका छन् । ठेक्का तोडेपछिका दण्ड सजाय जटिल रहेको नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले बताए ।


