Banijya News

बागमतीमा अर्बौँका उद्योग परियोजना अलपत्र, कहिले आउँछन् सञ्चालनमा ?

1
1.2K Shares

बागमती प्रदेश सरकारले अर्बौं रुपैयाँ खर्चेर अघि बढाएका कृषि, उद्योग र पर्यटनसम्बन्धी महत्वपूर्ण परियोजना सञ्चालनमा अन्योलता देखिएको छ ।

संघीयता कार्यान्वयनपछि परिणाममुखी विकासका लागि बागमती प्रदेश सरकारले सुरु गरेका ठूला आयोजना अलपत्र बनेका हुन् । प्रदेशभर कृषि, दूध उत्पादन, पर्यटन र बजार व्यवस्थापनमा आधारित परियोजनामा ठूलो रकम खर्च भए पनि अधिकांस संरचना सञ्चालनमा आउन सकेका छैनन् ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा सुरु गरेको शीतभण्डार निर्माण परियोजना ६ वर्ष बित्दा पनि पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन । ९ जिल्लामा १२ वटा शीतभण्डार निर्माणका लागि एक अर्ब ६ करोड रुपैयाँ खर्च भए पनि २ वटाको काम सुरु हुन सकेको छैन भने १ अझै निर्माणाधीन छ । हाल निर्माण सकिएका ९ मध्ये रसुवा र नुवाकोटका शीतभण्डार मात्र सञ्चालनमा छन् ।
साझेदार संस्थाले भुक्तानी गर्न बाँकी १९ करोड १० लाख रुपैयाँ नबुझाउँदा शीतभण्डार हस्तान्तरण र सञ्चालन प्रक्रिया रोकिएको प्रदेश कृषि मन्त्रालयले जनाएको छ ।

यस्तै, करिब ४७ करोड रुपैयाँ लागतमा बनेको हेटौँडा–१० स्थित धुलो दूध कारखाना पनि सञ्चालनमा आउन सकेको छैन । ६० हजार लिटर दूध प्रशोधन क्षमता भएको प्लान्ट निर्माण सम्पन्न भएर दुई वर्ष बित्दासमेत सञ्चालन मोडालिटी नटुंगिँदा प्लान्ट अलपत्र छ ।
दुग्ध विकास बोर्डले सरकारी, निजी वा मिश्रित मोडलमा सञ्चालन गर्न सकिने प्रस्ताव मन्त्रालयमा बुझाए पनि कुनै निर्णय नभएको अधिकारीहरूले बताएका छन् ।

पर्यटन प्रवद्र्धनका लागि ८ जिल्लामा बनाइएका २८ करोड ७२ लाख रुपैयाँ लागतका ९ भ्युटावर पनि सञ्चालनमा नआएका छन् । पर्यटन पूर्वाधार हस्तान्तरण तथा व्यवस्थापन कार्यविधि लागू भए पनि स्थानीय तहमा हस्तान्तरण प्रक्रिया अघि बढ्न नसक्दा संरचना उपयोगविहीन अवस्थामै रहेका छन् ।

यस्तै, ३० करोड रुपैयाँभन्दा बढी लागतमा हेटौँडा–११ मा बनेको प्रादेशिक कृषि थोक बजार पनि सञ्चालनविहीन छ । ७०/३० प्रतिशत साझेदारीमा बनेको यो बजारको कार्यविधि नबनेपछि बजार सञ्चालनबारे प्रदेश र स्थानीय तहबीच छलफल नै प्रारम्भ हुन सकेको छैन ।

६ करोड ४३ लाख रुपैयाँमा निर्मित बृहत् घरेलु तथा उद्योग उपज प्रदर्शनी भवन पनि उद्देश्यअनुसार प्रयोग हुन नसकिरहेको छ । स्थानीय उत्पादनको प्रवद्र्धनका लागि बनाइएको यो संरचनामा हाल प्रदेशका दुई मन्त्रालय सञ्चालनमा छन् ।

योजनाको तयारी चरणमै कमजोरी दोहोरिन थालेपछि अर्बौंको लगानी उपयोगविहीन बन्ने अवस्था कायम हुँदै आएको छ ।

यी परियोजना कहिले सञ्चालनमा आउने भन्ने विषयमा प्रदेश सरकार स्पष्ट समयसीमा तोक्न सकेको छैन । कृषि, उद्योग र पर्यटन क्षेत्रका प्रमुख पूर्वाधारहरू वर्षौंदेखि अलपत्र रहँदै आए पनि सञ्चालन सम्बन्धी निर्णय, कार्यविधि र जिम्मेवारी निर्धारणमा ढिलाइ हुँदा परियोजना सञ्चालनको सम्भावित मिति अनिश्चित बनेको हो । मन्त्रालयका अधिकारीहरूले मोडालिटी र भुक्तानी विवाद समाधान भएपछि केही परियोजना क्रमशः सञ्चालनतर्फ जान सक्ने संकेत दिए पनि हालका परिस्थितिमा यी संरचना कहिले पूर्ण रूपमा सञ्चालनमा आउने भन्ने निश्चित नभएको जनाएको छ ।

1

Scroll to Top