वैदेशिक ऋणमार्फत सञ्चालन हुने पूर्वाधार आयोजनामा अब ऋण लिने मुद्रा र ठेक्का तथा परामर्श सेवा खरिद गर्ने मुद्रा एउटै हुनुपर्ने व्यवस्था गरिएको छ । अर्थ मन्त्रालयले वैदेशिक सहायता परिचालन नीतिमार्फत यस्तो व्यवस्था लागू गर्दै विनिमय दरको उतारचढावबाट राज्यलाई पर्ने दीर्घकालीन आर्थिक जोखिम न्यूनीकरण गर्ने लक्ष्य लिएको छ ।
नयाँ व्यवस्थाअनुसार विकास साझेदारसँग जुन मुद्रामा वित्तीय सम्झौता गरिएको छ, निर्माण व्यवसायी र परामर्शदातासँग हुने खरिद सम्झौता पनि त्यही मुद्रामा गर्नुपर्नेछ । यदि वित्तीय सम्झौतामा उल्लेखित मुद्रामा खरिद सम्झौता गर्न नसकिने अवस्था आएमा नेपाली रुपैयाँमा सम्झौता गर्न सकिने व्यवस्था पनि राखिएको छ । अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले वित्तीय सम्झौताको मुद्रा वा नेपाली रुपैयाँमध्ये कुनै एकमा मात्रै खरिद सम्झौता गर्न पाइने स्पष्ट गरे ।
शर्माका अनुसार यसअघि एउटा मुद्रामा वित्तीय सहायता सम्झौता गरेर अर्को मुद्रामा ठेक्का र परामर्श सेवा लिने चलन थियो । त्यसो गर्दा मुद्राको विनिमय दरमा हुने उतारचढावले ऋणको साँवा ब्याज तिर्दा महँगो पर्ने देखिएको छ । यसबाट दीर्घकालीन रुपमा देशलाई घाटा पर्ने भएकाले त्यस्तो अभ्यास रोकिएको हो । अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका अनुसार केही पूर्वाधार आयोजनामा ऋण जापानी येन वा चिनियाँ आरएमबीमा लिएको तर ठेक्का डलरमा गरिएको पाइएको छ । यसले ऋण येन वा आरएमबीमा लिने तर कामको भुक्तानी डलरमा गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । अर्थ मन्त्रालयले वैदेशिक सहायता परिचालन नीतिमार्फत नयाँ व्यवस्था गरेको हो । अब येनमा लिएको ऋणको ठेक्का येनमा नै लाग्दा विनिमय दरमा हुने परिवर्तनले ठूलो असर नगर्ने शर्माको भनाइ छ ।
विशेषगरी पछिल्ला वर्षहरुमा अमेरिकी डलर र नेपाली रुपैयाँको विनियम दरमा ठूलो परिवर्तन भइरहेको छ । डलरको तुलनामा नेपाली रुपैयाँको मूल्य घट्दै गएको छ । त्यसकारण कुनै ठूलो परियोजना निर्माण गर्नको लागि सहुलियत ऋण शून्य दशमलव ७५ प्रतिशतदेखि १.५ प्रतिशतमा लिए पनि विनिमय दरमा डलरसँग नेपाली रुपैयाँ कमजोर हुँदा ५ देखि ६ प्रतिशतसम्म ब्याजदर पर्ने गरेको छ । यसकारण सहुलियतपूर्ण ऋण नै १ प्रतिशतमा नेपालले लिए पनि त्यो फिर्ता गर्ने बेलामा डलरको मूल्यमा हुने वृद्धिले ६ प्रतिशतसम्म पुग्ने गरेको छ ।
अर्कोतर्फ सार्वजनिक लगानीका आयोजना समयमा सम्पन्न नभई प्रतिफल प्राप्तिमा ढिलाइ हुने गरेको छ । तर, विगतमा लिएका ऋणको भुक्तानी अवधि क्रमशः सुरु हुने भएकाले वैदेशिक ऋणको साँवा ब्याज भुक्तानीको आकारसमेत बढ्दै गएको छ । खासगरी बहुपक्षीय संस्थाबाट लिएका सहुलियतपूर्ण ऋणको ब्याज तुलनात्मक रूपमा न्यून र साँवा भुक्तानी अवधि लामो हुने गर्छ । तर, अमेरिकी डलर लगायत विदेशी मुद्रा र नेपाली मुद्राबीचको विनिमय दरमा हुने परिवर्तनले लागतमा अकल्पनीय वृद्धि गरेको छ ।
अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका अनुसार अर्को चाखलाग्दो प्रवृत्ति के छ भने अन्य केही देशको मुद्रामा भने डलरको तुलनामा धेरै उतारचढाव छैन । उदाहरणको लागि जापानी येन नेपाली रुपैयाँसँगको मूल्यको तुलनामा कमजोर छ । त्यसकारण डलरमा भन्दा येनमा ऋण लिँदा नेपाललाई फाइदा पुग्नेछ । यसले गर्दा जापानसँग ऋण लिँदा होस् वा अन्य देशसँग पनि जापानी येनको विनिमय दरमा ऋण दिने अवस्थामा त्यो फाइदाजनक हुनेछ । त्यस्तो बेला नेपालले जापानी येनमा वित्तीय सम्झौतालाई प्राथामिकता दिनेछ ।
यसअघि नीतिगत स्पष्टता नहुँदा डलरमा ऋण लिने वा ठेक्का लगाउने अवस्था थियो । अब नीतिगत रुपमा नै स्पष्टता भएपछि त्यस्तो समस्या नआउने उनको भनाइ छ । स्पष्टताको अभावले कतिपय पूर्वाधार आयोजनालाई लिएको ऋण तिर्दा देशलाई घाटा लागेको अवस्था छ । यससँगै अबदेखि कुनै निर्माण व्यवसायी वा परामर्शदाताले आयोजनाको काम प्राप्त गर्न प्रतिस्पर्धा गर्दा पहिले नै मुद्राको विनिमयलाई ध्यान दिइ आवश्यक जोखिम लिन तयार हुनुपर्नेछ ।
ठूलो पूर्वाधार निर्माण गर्दा आवश्यक पर्ने प्राविधिक क्षमता देशभित्र नहुँदा बाह्य सहायता नेपाललाई अत्यावश्यक बनेको छ । त्यसबाहेक ऋणको ब्याजदर न्यून र साँवा फिर्ता गर्ने समय लामो हुँदा सहयोग लिने सरकारका नीति छ । विशेषगरी रणनीतिक महत्व बोकेका आयोजनामा सहायता लिने गरेको छ । यसको साथै कतिपय क्षेत्रमा अहिले नै काम नगरे १०–१५ वर्षपछि नयाँ प्रविधिको विकासमार्फत विस्थापित हुने सम्भावना रहेको कारण पनि अहिले सहायता लिनै पर्ने अवस्थमा रहेको महाशाखा प्रमुख शर्माले बताए ।
आयोजना कार्यान्वयनको पूर्वतयारी पूरा नभई ऋण सम्झौता हुने तर कार्यान्वयनका क्रममा तोकिएको समय र लागतमा अयोजना पूरा नहुने अवस्था छ । खरिद प्रक्रिया तथा ठेक्का व्यवस्थापनमा समस्या र अन्तरनिकाय समन्वयको कमीका कारणले समेत वैदेशिक सहायता परिचालनमा अपेक्षित सुधार हुन सकेको छैन । वैदेशिक सहायतामा सञ्चालित अधिकांश आयोजनाहरू शोधभर्नामा आधारित छ । तर, आयोजनामा भएको कार्यप्रगति र सोका आधारमा भएको खर्च समयमा शोधभर्ना माग नहुने, माग भएको शोधभर्नाको रकम प्राप्त भए–नभएको सम्बन्धमा प्रभावकारी अनुगमन र नियमन नहुने कारण सरकारको नगद प्रवाहमा निरन्तर चाप पर्न गएको छ सहायता परिचालन नीतिले उल्लेख गरेको छ ।
सहायता परिचालनमा हुने खण्डीकरणलाई अझै देखिने गरी सुधार गर्न सकिएको छैन । वैदेशिक सहायताको अधिकांश हिस्सा कार्यसम्पादनमा आधारित हुने भएकोले आयोजना समयमा सम्पन्न नहुँदा वैदेशिक सहायता प्रतिबद्धताको तुलनामा न्यून हिस्सा मात्र परिचालन हुने गरेको र यसले थप वैदेशिक सहायता परिचालन हुन सक्ने सम्भावनालाई घटाउने जोखिम रहेको नीतिमा उल्लेख छ ।


