नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाडिएका निशान फर्काइएको ‘निशान पदमार्ग’ प्रवर्द्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा हुने भएको छ। सोमबार सूर्योदय नगरपालिकामा भएको सम्बन्धित तीन पालिका र इलामस्थित नेपाली सेनाको रणशार्दुल गणको संयुक्त बैठकले यही पुस २३ देखि २६ गतेसम्म पदयात्रा गर्ने निर्णय गरेको हो।
सूर्योदय नगरपालिका, इलाम नगरपालिका, माईजोगमाई गाउँपालिका र रणशार्दुल गणले संयुक्त रूपमा पदयात्राको तयारी गरेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए। गत वर्षदेखि सुरु गरिएको पदयात्रालाई यसपटक पनि निरन्तरता दिन लागिएको उनको भनाइ छ।
‘करिब दुई सय वर्षअघिको युद्ध इतिहास खोजी गर्दै निर्माण गरिएको निशान पदमार्गमा गत वर्षदेखि पदयात्रा सुरु गरेका थियौँ,’ नगर प्रमुख राईले भने, ‘सरोकार भएका निकायबाट सकरात्मक प्रतिक्रिया आएको थियो। यसपटक पनि त्यसलाई निरन्तरता दिन लागेका हौँ।’
इलाम नगरपालिकाका प्रमुख केदार थापाले पदयात्राले निशान पदमार्गको मात्र नभई समग्र इलामको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको बताए।
‘पदयात्राले निशान पदमार्गको संरक्षणमा योगदान दिनुका साथै समग्रमा इलामको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनेछ,’ उनले भने।
पदयात्राका लागि तीनवटै पालिकाबाट आर्थिक सहकार्य हुने इलाम नगर प्रमुख थापाले बताए। कोशी प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष २०८२ लाई जोडेर पदयात्रा कार्यक्रम आयोजना गरिने उनले बताए। पदयात्रामा मेची पर्यटन कार्यालयको सहकार्य हुने उनले जानकारी दिए।
नेपाल-भारत सिमाना जोडिएको मेची नदीको मुहानबाट इलाम सदरमुकामस्थित निशान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गमा पदयात्रा गरिने रणशार्दुल गणका प्रमुख प्रह्लाद घलेले जानकारी दिए। उनका अनुसार तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निशान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर पदयात्राको तयारी गरिएको हो।
चार दिनको पदयात्रा नेपाल-भारत सीमाक्षत्रेको मेची बजारबाट औपचारिक रूपमा थालनी हुनेछ। पुस २६ गतेसम्म नेपाली सेना, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालासहित दुई सय जनाको टोलीले पदयात्रा गर्ने घलेले जानकारी दिए।
पदमार्गअन्तर्गत पर्ने सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकाका विभिन्न स्थानमा पदयात्रीको स्वागतका लागि स्थानीय जातजातिको झाँकीसहित स्वागतका कार्यक्रम तय गरिएको घलेले बताए। पदयात्राका लागि तीनवटै पालिकाका विभिन्न ठाउँमा हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता, सांस्कृतिक कार्यक्रम साथै कार्यपत्रमाथि छलफललगायत कार्यक्रम हुनेछन्।
रणशार्दुल गणको पहलमा २०८१ देखि निशान पदमार्ग पहिचान गर्न थालिएको थियो। त्यसका लागि सूर्योदय नगरपालिका, माईजोमगाई गाउँपालिका र इलाम नगरपालिकाले सहयोग गरेको थियो।
नेपाल-अंग्रेज युद्धपछि वि.सं. १८७२ फागुन २० गते भएको सुगौली सन्धिपश्चात् तत्कालीन नेपाली सेनाले इलाम सदरमुकाममा निशान ल्याउन प्रयोग गरिएको मार्गलाई नेपाली सेनाको समन्वयमा तीन पालिकाले पहिचान गरी कार्यान्वयनमा ल्याएको हो।
यसअघि भारतको नागरीगडीबाट नेपाल-भारत सीमाक्षेत्र सात माइल मेची मुहान, सिद्धीखोला, गैरीगाउँ, रम्फोक, नयाँचोक, जोगमाईखोला, हात्तीटार, माइबेनी, तिल्केनी हुँदै माईस्थान मन्दिरसम्मको जीआईएस नक्सा तयार गरी सार्वजनिक गरिएको थियो।
सुगौली सन्धिपछि मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथसिंह पल्टन अहिलेको इलामको सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बसेको इतिहास छ। मेचीबाट नागरीगढी हुँदै टिस्टासम्मको भूभाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो। सम्झौता कार्यान्वयन गर्दै सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम करफोक ल्याएका थिए।
पूर्णेडाँडा भारतीय सीमानजिक भएको र अंग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्ने क्रममा माइजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलाम नगरपालिका-७ स्थित माईस्थान मन्दिर ल्याइएको थियो। माईस्थान मन्दिर वि.सं. १८८० मा स्थापना भएको अनुमान छ। हाल निशान सोही मन्दिरमा संरक्षण गरी राखिएको छ।


