कोरियामा सीपयुक्त श्रमिक पठाउन निजी क्षेत्रलाई प्रवेश गराउने गरी जारी गरिएको ई–७ भिसासम्बन्धी कार्यविधि पुनः कार्यान्वयनमा आएको छ। उच्च अदालत पाटनले कार्यविधि कार्यान्वयन गर्न निर्देशन दिएपछि वैदेशिक रोजगार विभागमार्फत मेनपावर कम्पनीले ई–७ भिसामा श्रमिक कोरिया पठाउने बाटो खुलेको हो।
यसअघि साउन ३१ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागलाई पत्राचार गर्दै कार्यविधि कार्यान्वयन नगर्न निर्देशन दिएको थियो। सो निर्देशनपछि विभागले तत्काल कार्यविधिको कार्यान्वयन रोकेको थियो। तर अदालतको आदेश आएपछि पुनः कार्यान्वयन प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।
वैदेशिक रोजगार विभागका निर्देशक टिकाराम ढकालका अनुसार मन्त्रालयबाट कार्यान्वयन नगर्नु भन्ने निर्देशन आएपछि कार्यविधि रोकिएको थियो। कार्यविधि लागू भएसँगै यससम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको र अवैध रकम असुलीको गुनासोसमेत आएपछि थप सावधानी अपनाइएको उनले बताए। ती उजुरीकै कारण प्रक्रिया अघि बढ्न नसकेको अवस्थामा अदालतको आदेशपछि पुनः कार्यान्वयनको वातावरण बनेको उनको भनाइ छ।
ई–७ भिसा प्रणालीमार्फत नेपाली युवा कोरिया पठाउन सरकारले बाटो खुल्ला गरे पनि सिउलस्थित नेपाली दूतावासले कुनै पनि मागपत्र प्रमाणीकरणको लागि विधिपूर्वक नआएको जनाउँदै आएको छ । दूतावासका एक अधिकारीले ई–७ भिसाका मागपत्र प्रमाणीकरणको कागजात पेस भए पनि कार्यविधिले तोकेका शर्त पूरा नभएको जनाउँदै आएको छ । हालसम्म कोरियाको रोजगारीका लागि न्यून मेनपावरले मात्र रुची देखाएर कामअघि बढ्न सकेको छैन ।
मन्त्रालयले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि जारी गरेर निजी क्षेत्रमार्फत कामदार पठाउन सक्ने गरी कानुनी आधार खुला गरेकाले मेनपावरले बजारीकरणको काम अघि बढाइरहे पनि सोचे जस्तो माग ल्याउन सकेको छैन । नेपाल र कोरिया सरकारबीच (जीटुजी) मार्फत कोरियामा कामदार पठाउने गरी इपिएस शाखा नेपाल स्थापना गरेको १९ वर्षपछि सरकारले कोरियाको रोजगारी निजी क्षेत्रलाई प्रवेश गराउने गरी कानुनी बाटा खुला गरेपछि युवाहरु ई– ७ भिसामा कोरिया जान इच्छुक देखिएका थिए ।
गत असार ९ गते कार्यविधिलाई दोस्रो संधोधन गरेर कार्यान्वयनका लागि वैदेशिक रोजगार विभागलाई पत्राचार गरिएको थियो । विगत १९ वर्षदेखि शत प्रतिशत निश्पक्ष र पारर्दर्शी मानिँदै आएको इपिएस जस्तै समानान्तर ई–७ प्रणाली विकास गरेर मेनपावरमार्फत श्रमिक कोरिया पठाउने तयारीसहित कार्यविधि आएको थियो । कार्यविधि कार्यान्वयनअघि मन्त्रालयले कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि २०८० लाई २ पटक संशोधन गरेर कार्यान्वयन गरेको थियो । यसअघि कार्यविधिलाई कानुनी मान्यता दिने विषयमा बिबाद आएपछि राय सुझावका लागि कानुन र परराष्ट्र मन्त्रालय पठाइएको थियो ।
हाल कोरिया कामदार पठाउन विभागअन्र्तगत छुट्टै इपिएस शाखा खोलेर कमिटेड (दक्ष), सिबिटी, रुट र नयाँ श्रमिकलाई कोरिया पठाउने काम भइरहेको छ । कार्यविधिमा दक्ष कामदार मात्र पठाउने लक्ष्यसहित ई–७ कामदार पठाइने उल्लेख छ । यद्यपि इपिएसमार्फत रुट उद्योग र कमिटेड गरी दक्ष कामदार पठाउने काम भइरहेको छ । कार्यविधिमा ई–७ भिसा भन्नले निजी क्षेत्रका व्यवसायी–व्यवसायी (बीटुबी) मार्फत नेपालबाट दक्ष र अर्धदक्ष सीपयुक्त श्रमिकलाई रोजगारका लागि कोरिया लैजाने प्रणाली भनिएको छ । जारी कार्यविधिमा ई–७ भिसा प्रणालीअन्तर्गत काम गर्ने संस्था, सीप परीक्षण, मागपत्र प्रमाणीकरण, श्रमिक छनोटको विधि तथा सम्झौता प्रक्रियासमेत उल्लेख गरिएकाले झन्झटिलो प्रक्रिया रहेको व्यवसायीले बताउँदै आएका थिए ।
ई–७ भिसा प्रणालीअन्तर्गत काम गर्ने संस्था विशेष योग्यता पूरा गरेका ईजाजतपत्र प्राप्त संस्थाहरुले ई–७ भिसा प्रणाली (मौसमी कामदारबाहेक) अन्तर्गत विभागको स्वीकृतिमा गणतन्त्र कोरियामा सीपयुक्त नेपाली श्रमिक पठाउन सक्ने भनिएको थियो । यस्ता कामदार पठाउन इपिएस कार्यालयमा एक संयन्त्र बनाएर पठाउने सकिने सम्भावना छ । हाल कोरियामा जीटुजीमार्फत श्रमिक जान सक्ने प्रावधान रहेको छ । कोरियाले लामो समयदेखि फेयर रिक्रुटमेन्टलाई आधार बनाएर कामदार माग गर्ने र पठाउने विषयलाई प्राथमिकता दिँदै आएको छ ।


