Banijya News

‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य घटाउने सरकारको तयारी, कति घट्छ शुल्क ?

1
1.1K Shares

महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब एक लाख सवारी साधनमा यस्तो प्लेट जडान भइसकेको अवस्थामा उपभोक्तालाई आर्थिक भार कम गर्ने गरी शुल्क परिमार्जनको तयारी थालिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले प्लेटको शुल्क घटाउन सिफारिस गरेको हो । यातायात व्यवस्था विभागका निर्देशक श्रीकान्त यादवका अनुसार मन्त्रालयका सहसचिव कृष्णराज पन्थको संयोजकत्वमा गठित समितिले मन्त्री कुलमान घिसिङलाई प्रतिवेदन बुझाइसकेको छ । समितिले प्रतिवेदनमार्फत उपभोक्तालाई आर्थिक भार कम हुने गरी शुल्क घटाउन सिफारिस गरिएको र कार्यान्वयनमा कसरी लैजाने भन्नेबारे छलफल भइरहेको निर्देशक यादवको भनाइ छ ।

निर्देशक यादवका अनुसार हाल प्लेटको मूल्य निर्धारण गर्दा प्लेटको मात्र नभई त्यसका लागि आवश्यक सर्भर, डाटाबेस सञ्चालन र सवारी ट्रयाकिङ गर्ने १० वटा ‘आरएफआईडी’ गेट तथा १०० वटा ह्यान्डहेल्ड डिभाइसको लागत पनि समावेश गरिएको छ । समितिले यी पूर्वाधारको खर्च उपभोक्ताबाट नउठाई सरकार आफैँले बेहोर्नुपर्ने र प्लेटको वास्तविक लागत मात्र जनतासँग लिनुपर्ने सुझाव दिएको छ ।

कति घट्न सक्छ शुल्क ?

सम्झौताअनुसार इम्बोस्ड नम्बर प्लेटको मूल्य दुईपांग्रे (मोटरसाइकल, स्कुटर) का लागि साढे १४ डलर, तीन पांग्रेका लागि १७ डलर र चारपांग्रेका लागि साढे १७ डलर र हेभी सवारीका लागि १९ डलर छ ।

यसअनुसार ठेकेदार कम्पनीलाई प्रतिप्लेट औसत १५.५ अमेरिकी डलर (हालको भाउअनुसार करिब २२०० रुपैयाँ) बुझाउनुपर्ने सम्झौता छ, तर त्यसमा विभागको प्रशासनिक खर्च र म्यानपावर, पूर्वाधारको खर्च जोडेर दुईपांग्रेका लागि २५००, तीन पांग्रेको २९००, चार पांग्रेको ३२०० र ठुला सवारीको ३६०० रुपैयाँसम्म शुल्क लिइँदै आएको थियो ।

भाषाको सन्दर्भमा सर्वोच्च अदालतले पनि पासपोर्ट र नागरिकताको उदाहरण दिँदै अंग्रेजी भाषाले राष्ट्रियतामा असर नगर्ने व्याख्या गरिसकेको छ । अदालतको यो व्याख्याले विभागलाई कानुनी रूपमा अगाडि बढ्न बाटो प्रशस्त गरेको छ ।

निर्देशक यादवका अनुसार पूर्वाधार र मेसिनरी खर्चलाई प्लेटको मूल्यबाट अलग गर्ने हो भने शुल्क सामान्य घट्छ । यद्यपि सम्झौता अमेरिकी डलरमा भएकाले डलरको भाउ बढ्दा लागतमा केही चाप भने रहिरहने देखिएको छ ।

यस्तै छिमेकी मुलुक भारतमा सस्तो मूल्यमा नम्बर प्लेट उपलब्ध हुने तर नेपालमा चर्को शुल्क तिर्नुपरेको आम उपभोक्ताको गुनासो छ । यस सन्दर्भमा यादवले भारतमा आरएफआईडी स्टिकर र गेटको पैसा छुट्टै लिने गरिएको र त्यहाँको राजस्व मोडल नेपालको भन्दा फरक रहेको तर्क गरे । त्यहाँका केही विशेष नम्बरबाट ठुलो राजस्व उठाएर सामान्य प्लेटमा सहुलियत दिइने गरेको बताए ।

1

Scroll to Top