नेपाल धितोपत्र बोर्डले एनएमबि बैंक लिमिटेडलाई ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न अनुमति दिएको छ ।
बोर्डबाट प्राप्त स्वीकृतिअनुसार बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले ३ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्नेछ । उक्त सेयरमा लगानी गर्नेले वार्षिक ८.२५ प्रतिशतका दरले लाभांश प्राप्त गर्नेछन् ।
अविमोच्य असञ्चिति अग्राधिकार सेयरको अवधि नतोकिएको हुन्छ भने यसमा निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्ने विशेषता हुन्छ । परिपत्र विधिमार्फत निष्कासन गरिने यो सेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।
एनएमबि बैंकले निष्कासन गर्न लागेको अविमोच्य असञ्चिति अग्राधिकार सेयर भुक्तानी अवधि नतोकिएको तर निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्न सक्ने विशेषता भएको पुँजी बजार उपकरण (Capital Market Instrument) हो ।
परिपत्र विधिबाट निष्कासन हुने यस सेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउने व्यवस्था गरिएको छ । व्यक्तिगत लगानीकर्ता, सामूहिक लगानी योजना तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका धितोपत्र व्यवसायीहरूलाई यसमा लगानी गर्न वञ्चित गरिएको छ ।
नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार यो सेयर आवश्यक परेमा संस्थापक समूहको साधारण सेयरमा परिवर्तन हुन सक्ने सम्भावना रहन्छ । बैंकले वितरणयोग्य मुनाफा आर्जन गरेको वर्षमा मात्र लाभांश वितरण गर्न पाउनेछ । नोक्सानीमा रहेको वर्ष वा संचित मुनाफाबाट लाभांश वितरण गर्न नपाइने भएकाले यसलाई असञ्चिति प्रकृतिको अग्राधिकार सेयर मानिन्छ ।
सन् २००७-०९ को विश्वव्यापी वित्तीय संकटपछि बैंक तथा वित्तीय संस्थाको पुँजीगत संरचना बलियो बनाउने उद्देश्यले यस्ता उपकरण अन्तर्राष्ट्रिय पुँजी बजारमा प्रयोग हुँदै आएका छन् । सोही परिप्रेक्ष्यमा नेपालमा भने यस्तो प्रकृतिको अग्राधिकार सेयर निष्कासन हुन लागेको हो ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ मा संशोधन गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थालाई मात्र यस्ता उपकरण निष्कासन गर्न सकिने व्यवस्था गरेको छ । यो सेयर दोस्रो बजारमा सूचिकरण हुने भएकाले संस्थागत लगानीकर्ताले दोस्रो बजारमा समेत यसको कारोबार गर्न सक्नेछन् । अग्राधिकार सेयरधनीमा निहित अधिकारहरू भने विवरणपत्रमा कम्पनीले उल्लेख गरेबमोजिम हुनेछन् ।
कम्पनी विघटनको अवस्थामा यस सेयरको भुक्तानी साधारण सेयरधनीभन्दा अगाडि तर कम्पनीका साहू, निक्षेपकर्ता तथा पूरक पूँजीभन्दा पछाडि रहने व्यवस्था गरिएको छ ।
यो उपकरणले बैंक तथा वित्तीय संस्थालाई दबाबको अवस्थामा पुँजीगत संरचना सुदृढ बनाउन सहयोग पुर्याउने, वित्तीय संकटको जोखिम न्यूनिकरण गर्ने तथा समग्र वित्तीय प्रणालीलाई स्थायित्व प्रदान गर्ने अपेक्षा गरिएको छ । साथै, संस्थागत लगानीकर्ताका लागि लगानीको नयाँ विकल्प थपिनेछ ।
यद्यपि, यो सेयर अविमोच्य र असञ्चिति प्रकृतिको भएकाले लगानीकर्ताले लगानी गर्नुअघि विवरणपत्र र जोखिम खुलासा विवरण ध्यानपूर्वक अध्ययन गर्नु आवश्यक छ । आफ्नो जोखिम वहन गर्ने क्षमता मूल्यांकन गरेर मात्र लगानी निर्णय लिनु उपयुक्त हुने विज्ञहरूको सुझाव छ ।


