नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सात अर्ब ६५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
चालु आवको पाँच महिनामा सात अर्ब ६५ करोड १९ लाख ९० हजार राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए ।
उनका अनुसार नेपालगन्ज भन्सारले चालु आवको हालसम्म कुनै पनि महिनामा निर्धारित मासिक लक्ष्य हासिल गर्न सकेको छैन । चालु आवको साउनमा एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा ७४.१४ प्रतिशत एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौमा एक अर्ब ९३ लाख ६४ हजार ५४ लक्ष्य रहेकामा ६९.७७ प्रतिशत एक अर्ब ३५ करोड १० लाख नौ हजार राजस्व संकलन भएको छ ।
त्यसैगरी, असोजमा एक अर्ब ९८ करोड ३१ लाख ३० लक्ष्य रहेकामा ८७.८३ प्रतिशत एक अर्ब ७४ करोड १६ लाख ५ हजार, कात्तिकमा दुई अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्य रहेकामा ७२.३० प्रतिशत एक अर्ब ५३ करोड ७० लाख ८२ हजार र मंसिरमा एक अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्य रहेकामा ८३.४५ प्रतिशत एक अर्ब ६३ करोड ८५ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
कार्यालयको तथ्यांकअनुसार अघिल्लो आव २०८१/८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत र मंसिरमा ७६.२७ प्रतिशत राजस्व संकलन भएको थियो ।
नेपालगन्ज नाका हुँदै चालु आवको पाँच महिनामा ३० अर्बभन्दा बढीको मालसामान आयात भएको छ। चालु आव २०८२/८३ को मंसिर मसान्तसम्म ३० अर्ब ६६ करोड ८९ लाख ९० हजारबराबरको वस्तु तथा सामान आयात भएको हो ।


