Banijya News

सुर्खेतका प्रेमबहादुरको इमानदारिता: बाटोमा भेटिएको ८१ हजार रूपैयाँ दिए फिर्ता

1
1.1K Shares

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ का टेकबहादुर कुमालले घरको गर्जो टार्न भन्दै आफन्तबाट ८१ हजार रुपैयाँ रकम सापटी लिएर आए । वीरेन्द्रनगर बजारबाट रकम लिएर घर जाँदै गर्दा उनको पैसा बाटोमै खसेछ । घरमा जाँदा मात्रै पैसा हराएको थाहा पाए ।

घर खर्च टार्न र छोराछोरीको पढाइमा खर्चका लागि ऋण काढेर ल्याएको रकम हराएपछि कुमाल आपतमा परे । अब हराएको रकम कहाँ खोज्ने ? भनेर तनावमा परेका कुमालले आफू हिँड्दै आएको बाटोभरि दिनभरि हराएको पैसा खोजे, तर कतै पत्ता लागेन ।

निरास भएर साँझमा घर फर्किएका उनले अब हराएको रकम नत घरको गर्जो टार्नलाई भयो, नत कुनै काममा प्रयोग नै भयो । तनावमा बसेका कुमालका आफन्तले रकम भेटिएको कुरा फेसबुकमा भेट्टाए ।

कुमालको ८१ हजार रुपैयाँ वीरेन्द्रनगरमा बस्दै आउनुभएका लेकबेसी नगरपालिका सुर्खेतका प्रेमबहादुर रास्कोटीले भटाएका थिए । उनले सुरक्षित रुपमा राखेको यो रकम स्थानीय रेडियो भेरी एफएममा बुझाए । अनि रेडियो भेरीका पत्रकार मधुवन वीसीको रोहबरमा रकम कुमाललाई नै फिर्ता बुझाइएको छ ।

पछिल्लो समय समाजमा खराब व्यक्ति मात्रै हुन्छन् भन्ने भाष्य निर्माण भइरहेका बेला प्रेमबहादुरले देखाएको इमानदारिताप्रति प्रशंसा भएको छ । उनँले इमानदारिता, संस्कार र मानवीय मूल्यलाई व्यवहारमै उतार्दै समाजमा सकारात्मक सन्देश दिएका छन् ।

रास्कोटीले भने, ‘मैले बाटोमा नगद भेट्दा केही क्षण सोचें, तर त्यो पैसा मेरो होइन भन्ने कुराले मनले स्वीकार गरेन । त्यो रकम कसैले अत्यन्तै आवश्यकतामा राखेको हुन सक्छ, त्यसैले जसको हो उसैलाई फिर्ता गर्नु नै सही निर्णय ठानेँ । इमानदारीले नै आत्मसन्तुष्टि दिन्छ ।’

कुमालले रास्कोटीप्रति धन्यवाद व्यक्त गर्दै भने, ‘मैले हराएको पैसा भेट्टिन्छ भन्ने आशा लगभग गुमाइसकेको थिएँ । यस्तो इमानदार व्यवहारले समाजप्रति विश्वास अझै बढाएको छ ।’

त्यो नगद रकम टेकबहादुर कुमाललाई हस्तान्तरण गरिएको हो । उनले देखाएको उदाहरणले अन्य व्यक्तिलाई सत्य, नैतिकता र जिम्मेवारीप्रति सजग बन्न प्रेरित गरेको छ ।

1

Scroll to Top