२० वाणिज्य बैंकमध्ये १९ ओटाले गत आर्थिक वर्षको लाभांश टुंगो लगाएका छन् । एनआईसी एशिया बैंकबाहेक बाँकी वाणिज्य बैंकहरूले गतवर्षको लाभांशको टुंगो लगाएका हुन् ।
एनआईसी एशिया बैंकको लाभांश प्रस्ताव सार्वजनिक हुन बाँकी रहेको अवस्थामा ६ बैंकले यस वर्ष लगानीकर्ताको हात खाली बनाएका छन् ।
धितोपत्रको दोस्रो बजारमा सूचीकृत नभएको राष्ट्रिय वाणिज्य बैंकसहित सूचीकृत कुमारी, नेपाल, प्रभु, नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकले यो वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।
यी बैंकहरूले पुसभित्रै वार्षिक साधारणसभा गर्ने मिति भने तय गरिसकेका छन् । यस वर्ष लाभांश नदिने निर्णय गरेका पाँच सूचीकृत बैंकले आर्थिक वर्ष (आव) २०७८/७९ पछि लगातार ३ आव लगानीकर्ताको खात खाली बनाएका छन् ।
लाभांश वितरण गर्ने निर्णय गरेका १३ वाणिज्य बैंकमध्ये १० ओटाले वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन् । माछापुच्छ्रे बैंकले यस वर्ष वाणिज्य बैंकहरूमध्ये सबैभन्दा पहिला असोज १० गते वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सबैभन्दा पहिला वार्षिक साधारणसभा गरेको यस बैंकले ४ प्रतिशत बोनस शेयर र करसमेत ४ प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।
एनएमबि बैंकले पुस २४ गते, नबिल बैंकले पुस २८ गते र प्राइम कमर्सियल बैंकले पुस ३० गते वार्षिक साधारणसभा बोलाएका छन् । एनएमबि बैंकले १० प्रतिशत, नबिल बैंकले १२ दशमलव ५० प्रतिशत र प्राइम कमर्सियल बैंकले ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव आगामी साधारणसभाबाट पारित गर्नेछन् ।
यीमध्ये प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने मौका अझै बाँकी छ । प्राइम कमर्सियल बैंकले सभा प्रयोजनका लागि पुस २१ गते १ दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस २० गते आइतवारसम्म कायम शेयरधनीहरू लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
हालसम्म सार्वजनिक लाभांशको अवस्था हेर्दा एभरेष्ट बैंकले सबैभन्दा बढी दिएको छ । एभरेष्ट बैंकले ६ प्रतिशत बोनस शेयर र करसमेत १४ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको हो ।
कम्पनीको बोनस शेयर पुस ६ गते नै दोस्रो बजारमा सूचीकृत भइसकेको छ । हाल बैंकको चुक्तापूँजी १३ अर्ब ७२ करोड १३ लाख ७६ हजार रुपैयाँ कायम भएको छ । यस बैंकले लाभांश वितरणलाई निरन्तरता दिँदै आएको छ । गतवर्ष १५ दशमलव ५३ प्रतिशत कुल लाभांश वितरण गरेकोमा यस वर्ष भने बढी लाभांश वितरण गर्न बैंक सफल भएको हो ।


