नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ३ खर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार ११ वर्षमा (चालु आवको पुस २२ गतेसम्म) कम्पनीहरुको ३ खर्ब ४७ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर सूचीकृत भएको हो । यी वर्षहरुमध्ये २०७८-७९ मा सबैभन्दा धेरै ६१ अर्ब ७९ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ ।
त्यसपछि, २०७७/७८ मा ४६ अर्ब २१ करोड, २०७९/८० मा ३९ अर्ब ४३ करोड र २०७६/७७ मा ३३ अर्ब ६८ करोडको सेयर सूचीकृत भएको हो । धितोपत्र बोर्डका अनुसार २०७२/७३ मा २१ अर्ब ६ करोड, २०७३/७४ मा ३४ अर्ब ८० करोड, २०७४/७५ मा ३३ अर्ब ९ करोड, २०७५/७६ मा २६ अर्ब ७ करोड, २०८०/८१ मा २० अर्ब ५४ करोड र २०८१/८२ सालमा २४ अर्ब ५७ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ ।
यता, चालु आर्थिक वर्षको पुस २२ गतेसम्म आइपुग्दा ५ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर बोनस सूचीकृत भएको बोर्डले जनाएको छ ।
२०७६ देखि २०८० सम्म कम्पनीहरुले थुप्रै रकम बोनस सेयर वितरणमा प्रयोग गरेका छन् ।
हाल सूचीकृत धितोपत्रहरुको चुक्ता पुँजी करिब ८ खर्ब ७५ अर्ब रुपैयाँ छ । जबकी, पछिल्लो ११ वर्षमा कम्पनीहरुले साढे ३ खर्ब जति रकम त बोनस सेयर वितरण बाटै पुँजी बढाएका छन् ।
नेपालको पुँजी बजारमा पछिल्ला एक दशकयता कम्पनीहरुले पुँजी विस्तारका लागि हकप्रद र बोनस सेयरलाई मुख्य माध्यम बनाउँदै आएका छन् । हाल सूचीकृत धितोपत्रहरुको कुल चुक्ता पुँजी करिब ८ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ भने, पछिल्ला ११ वर्षमा मात्र कम्पनीहरुले साढे ३ खर्ब रुपैयाँभन्दा बढी रकम बोनस सेयरमार्फत पुँजीमा जोडिसकेका छन् ।


