इन्धनको मूल्य १० प्रतिशतभन्दा बढीले घटिसक्दा पनि यातायात भाडा समायोजन नगर्दा यात्रु तथा उपभोक्ता मारमा परेका छन् । इन्धनको मूल्य पाँच प्रतिशत घटबढ हुँदा भाडादर समायोजन गर्नुपर्ने व्यवस्था हुँदाहुँदै यातायात व्यवस्था विभागले व्यवसायीको दबाबमा भाडा घटाउन आनाकानी गरिरहेको छ ।
विभागले गत वर्ष २२ पुसमा भाडादर समायोजन गर्दै यात्रुवाहक सवारीसाधनको भाडा ३.३० प्रतिशत बढाएको थियो । त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको ढुवानी खर्च ०.८१ प्रतिशत र तराईमा सञ्चालन हुने मालवाहक सवारीसाधनको ढुवानी खर्च ०.०५ प्रतिशत बढाइएको थियो । जबकि, सो अवधिमा डिजेलको मूल्य अघिल्लो समायोजन गरिएको ३१ साउन ०८० को तुलनामा प्रतिलिटर १४ रुपैयाँ घटेको थियो । आयल निगमका अनुसार ३१ साउन ०८० मा डिजेलको मूल्य १ सय ६७ रुपैयाँ प्रतिलिटर रहेकामा २२ पुस ०८१ मा घटेर १ सय ५३ रुपैयाँ पुगेको थियो ।
त्यतिबेला विभागले डिजेलको मूल्य घटे पनि श्रमिक पारिश्रमिक, टायर, ब्याजदर, सञ्चालन खर्च, ह्रासकट्टी तथा मुनाफाजस्ता सूचक बढेकाले भाडा वृद्धि गर्नुपरेको तर्क दिएको थियो । तर, पछिल्लो एक वर्षमा डिजेलको मूल्य र बैंक ब्याजदर दुवैमा उल्लेखनीय गिरावट आइसके पनि उपभोक्तालाई राहत दिने गरी भाडा घटाउन विभागले चासो देखाएको छैन ।
एक वर्षअघि २२ पुसमा भाडा वृद्धि भएयता डिजेलको मूल्य प्रतिलिटर १६ रुपैयाँ अर्थात् करिब १०.४५ प्रतिशत घटिसकेको छ । हाल डिजेलको मूल्य प्रतिलिटर १ सय ३७ रुपैयाँमा झरेको छ । भाडा निर्धारणमा सबैभन्दा ठूलो ३५ प्रतिशत हिस्सा डिजेलले ओगट्ने भएकाले मूल्यमा पाँच प्रतिशतभन्दा बढी घटबढ हुँदा भाडादर समायोजन गर्नुपर्ने विभागकै ‘ऐन’ छ । त्यसका साथै सञ्चालन खर्चमा ठूलो भार पर्ने बैंक ब्याजदर पनि घटेर न्यून विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार हाल कर्जाको औसत ब्याजदर ७.३८ प्रतिशतमा झरेको छ ।
यता, यातायात व्यवस्था विभागका प्रवक्ता गणेशमान सिंह राईले भाडादर समायोजनका विषयमा आन्तरिक छलफल भइरहेको बताएका छन् ।पछिल्लो समय यो प्रक्रिया रोकिए पनि अहिले पुनः छलफल र समितिका बैठकहरू भइरहेको र छिट्टै निर्णय आउने उनको दाबी छ ।


