Banijya News

एक खर्ब २० अर्बको विकास बजेट रोक्का हुँदा आयोजना अलपत्र

1
1.1K Shares

तीन महिना बितिसक्दा पनि अर्थ मन्त्रालयले विकास बजेट फुकुवा नगर्दा देशभरका विकास निर्माणका आयोजना अलपत्र परेका छन् । पुँजीगततर्फ विनियोजन गरिएको करिब १ खर्ब २० अर्ब रुपैयाँ बजेट रोक्का हुँदा सडक, खानेपानी, पुल, ढल व्यवस्थापनलगायतका योजनाहरू अघि बढ्न सकेका छैनन् । रातो किताबमा समावेश भइसकेका योजनासमेत बजेट अभावकै कारण कागजमै सीमित बनेका छन् ।

बजेट फुकुवा नहुँदा संघीय, प्रदेश तथा स्थानीय तह मातहतका विकासे कार्यालयहरू कामविहीन अवस्थामा पुगेका छन् । ठेक्का प्रक्रिया पूरा गरी निर्माणको काम सुरु गर्नुपर्ने यो बेला ठेक्का आह्वानको सुरसारसमेत नभएकाले विकास निर्माणले गति लिन सकेको छैन ।

सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २१ बमोजिम पूर्वतयारी नभएका, दोहोरो प्रविष्टि भएका तथा साना–टुक्रे योजनाहरूको बजेट रोक्का गर्ने निर्णय गरे पनि व्यवहारमा एकमुष्ठ रूपमा अधिकांश विकास बजेट रोक्का गरिएको सरोकारवालाको भनाइ छ । विश्लेषणविनै गरिएको यस निर्णयको प्रत्यक्ष असर नागरिकको दैनिकी र सार्वजनिक सेवामा देखिन थालेको छ ।

बजेट रोक्काका कारण चालु आर्थिक वर्षको पुँजीगत खर्च पनि निराशाजनक देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत आवको यही अवधिमा १६ दशमलव १३ प्रतिशत पुँजीगत खर्च भएकोमा चालु आवमा १० दशमलव ३७ प्रतिशत मात्र खर्च भएको छ । पुँजीगततर्फ विनियोजित कुल ४ खर्ब ७८ अर्ब रुपैयाँमध्ये ४१ अर्ब ३५ करोड रुपैयाँ मात्र खर्च भएको तथ्यांकले देखाउँछ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत सञ्चालन हुने करिब १० अर्ब रुपैयाँ बराबरका योजनाहरूको बजेट रोक्का हुँदा मानवीय संवेदनशील क्षेत्रसमेत प्रभावित बनेको छ ।

1

Scroll to Top