जेन–जी आन्दोलनबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले पूर्वाधार र विकाससँग सम्बन्धित विभिन्न योजना तथा कार्यक्रम रोक्का गरेको छ । यसरी विकास बजेट रोक्का हुँदा भौतिक पूर्वाधार तथा यातायात सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानीलगायत विकासे मन्त्रालयका योजना तथा कार्यक्रम प्रभावित हुन पुगेका छन् । विकास बजेट रोक्का हुँदा आर्थिक गतिवधि शून्य हुने र समग्र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पर्दछ ।
कार्की नेतृत्वको सरकारले रोकेका विकास कार्यक्रमहरूमध्ये पाँच सय ३३ वटाको बजेट फुकुवा गर्न सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ । यी विकास योजनाको कुल बजेट करिब १७ अर्ब रुपैयाँबराबर छ । हाल सहरी विकास मन्त्रालयबाट सञ्चालित एक हजार दुई सय ८० वटा विकास कार्यक्रम रोक्का छन् । तीमध्ये पाँच सय ३३ वटा कार्यक्रमको बजेट फुकुवा गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको हो । तीन महिनायता एक खर्ब २० अर्ब रुपैयाँबराबरको विकास बजेट रोक्का रहेका छन् । तीमध्ये करिब ४० अर्ब रुपैयाँबराबरका कार्यक्रमको बजेट फुकुवा भइसकेको छ ।
भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सय दिन पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सरकारले रोक्का गरेका विकास कार्यक्रम क्रमशः फुकुवा गर्दै जाने बताएका थिए । मन्त्री घिसिङको उक्त प्रतिबद्धताअनुसार पाँच सय ३३ वटा विकास कार्यक्रमको बजेट फुकुवा गर्न प्रस्ताव पठाइएको मन्त्रालयले जनाएको छ ।
अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने भन्दै मन्त्रिपरिषद्बाट असोज ४ गते करिब सवा एक खर्ब रुपैयाँबराबरका विकास बजेट रोक्का गर्ने निर्णय भएको थियो । मन्त्रिपरिषद्को उक्त निर्णयपछि अर्थ मन्त्रालयले विभिन्न मन्त्रालय र निकायलाई १५ बुँदे परिपत्र पठाएको थियो ।
बजेट सूचना प्रणाली (एलआइएमबिएस) मा नयाँ प्रविष्टि भएका तर पूर्वतयारी नभएका, दोहोरो प्रविधि भएका कम महत्वका साना आयोजना, कार्यक्रमहरू, बजेट शीर्षकमा बजेट विनियोजन भए पनि उद्देश्यभन्दा कम महत्वका क्षेत्रमा गरिएको बजेट विनियोजन, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने प्रकृतिका ससाना सुदे÷टुक्रे आयोजनासमेत विभिन्न मन्त्रालयमा भएको विनियोजन रोक्का राख्ने लगायत विषयमा अर्थ मन्त्रालयले परिपत्र गरेको थियो ।
मन्त्रिपरिषद्बाट विकासका कार्यक्रम रोक्का गरिएको कार्यक्रम फुकवा गर्न पनि मन्त्रिपरिषद्को निर्णय चाहिन्छ । त्यसैले सहरीबाट अर्थमा गएको प्रस्तावलाई अर्थले मन्त्रिपरिषद्मा लग्नुपर्छ । विकास कार्यक्रम रोक्का गर्ने सरकारको उक्त निर्णयबाट सबैभन्दा बढी सहरी विकास मन्त्रालय प्रभावित भएको छ । उक्त मन्त्रालयको मात्र ४० अर्ब तथा सहरी विकास तथा भवन निर्माण विभागको ३१ अर्ब रुपैयाँ बजेट रोक्का गरिएको छ ।
त्यस्तै, भौतिक पूर्वाधार मन्त्रालयको २४ अर्ब रुपैयाँबराबरको बजेट रोक्का गरिएकोमा १० अर्बबराबर फुकुवा भइसकेको छ । हरेक वर्ष सरकारले विकास बजेट बढीमा ६० देखि ६५ प्रतिशत मात्र खर्च गर्ने गरेको छ । त्यसमाथि विकास बजेट रोक्का गर्ने हो भने आर्थिक गतिविधि शून्य हुने र बेरोजगारी बढ्ने विज्ञहरु बताउँछन् । विकासका कार्यक्रमहरू रोक्दा जनतामा निराशा पैदा हुने र दक्ष जनशक्ति बेरोजगार हुने अवस्था झन् बढ्दै जाने हुन्छ । सरकारले रोक्का गरेको बजेट तत्काल फुकुवा गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।


