Banijya News

ब्याज अनुदान अभावले थलिँदै सहुलियतपूर्ण कर्जा

1
1.2K Shares

सरकारले बैंकिङ पहुँचबाट बाहिर रहेका किसान, उद्यमी तथा साना व्यवसायीलाई लक्षित गर्दै सञ्चालन गरेको सहुलियतपूर्ण कर्जा कार्यक्रम ब्याज अनुदान भुक्तानीको अभावका कारण क्रमशः संकुचित बन्दै गएको छ । पछिल्ला तीन आर्थिक वर्षमा सहुलियतपूर्ण कर्जा प्रवाह निरन्तर घट्दै जाँदा कर्णाली र सुदूरपश्चिम प्रदेश सबैभन्दा बढी प्रभावित भएका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ०८२ असार मसान्तसम्म देशभर सहुलियतपूर्ण कर्जा प्रवाह ६८ अर्ब ९८ करोड रुपैयाँमा सीमित छ । यसमध्ये बागमती प्रदेशमा मात्रै करिब २४ अर्ब रुपैयाँ बराबरको कर्जा कायम छ, जुन कुल प्रवाहको ३४.७९ प्रतिशत हो । प्रदेशगत रूपमा हेर्दा कर्णालीमा कुल सहुलियतपूर्ण कर्जा प्रवाहको हिस्सा १.६३ प्रतिशत र सुदूरपश्चिममा ५.४८ प्रतिशत मात्र रहेको छ ।

तीन वर्षअघि ०८० असार मसान्तमा देशभर सहुलियतपूर्ण कर्जा उल्लेख्य रूपमा फैलिएको भए पनि पछिल्ला वर्षमा यसको आकार तीव्र रूपमा खुम्चिएको देखिन्छ । सरकारको आय–व्यय सन्तुलन कमजोर बन्दा बैंकलाई दिनुपर्ने ब्याज अनुदान नियमित रूपमा भुक्तानी हुन नसक्दा बैंकहरू स्वयं सहुलियतपूर्ण कर्जा प्रवाहप्रति अनिच्छुक बनेका छन् ।

प्रदेशगत विवरणले पनि यही प्रवृत्ति देखाउँछ । कोशी प्रदेशमा ०८० असार मसान्तमा ३२ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी रहेको सहुलियतपूर्ण कर्जा ०८२ असारमा घटेर करिब १० अर्ब ८९ करोड रुपैयाँमा झरेको छ । मधेश प्रदेशमा पनि तीन वर्षको अवधिमा कर्जा प्रवाह आधाभन्दा बढी घटेको छ, जसले कृषिमा आधारित अर्थतन्त्र भएका क्षेत्रका किसान र साना व्यवसायीको लगानी क्षमता कमजोर बन्दै गएको संकेत गर्छ ।

पर्यटन र साना उद्यममा निर्भर गण्डकी प्रदेशमा सहुलियतपूर्ण कर्जा ०८० को २५ अर्ब ६१ करोड रुपैयाँबाट ०८२ मा झरेर करिब आठ अर्ब रुपैयाँमा सीमित भएको छ । त्यस्तै, उद्योग र कृषिको सम्भावना बोकेको लुम्बिनी प्रदेशमा पनि कर्जा प्रवाह तीन वर्षमै झन्डै दुईतिहाइले घटेको छ, जसले रोजगारी सिर्जना र उत्पादन वृद्धिमा नकारात्मक असर पार्ने जोखिम देखिएको छ ।

सबैभन्दा कमजोर अवस्था भने कर्णाली र सुदूरपश्चिम प्रदेशको देखिएको छ । कर्णालीमा ०८० मा करिब तीन अर्ब रुपैयाँ रहेको सहुलियतपूर्ण कर्जा ०८२ सम्म आइपुग्दा घटेर एक अर्ब १२ करोड रुपैयाँमा सीमित भएको छ । सुदूरपश्चिममा पनि ०८० मा करिब नौ अर्ब ६७ करोड रुपैयाँ रहेको कर्जा ०८२ मा घटेर तीन अर्ब ७८ करोड रुपैयाँमा झरेको छ ।

जानकारहरूका अनुसार बैंकहरूको जोखिमप्रति बढ्दो सतर्कता, कर्जा असुलीमा देखिएका समस्या, नीतिगत अस्पष्टता र समग्र आर्थिक गतिविधिमा आएको सुस्तताले सहुलियतपूर्ण कर्जा प्रवाहलाई थप संकुचित बनाएको हो । सरकारले समयमै ब्याज अनुदान भुक्तानी सुनिश्चित नगरे सहुलियतपूर्ण कर्जामार्फत उत्पादन, कृषि तथा साना–मझौला उद्यमलाई टेवा दिने लक्ष्य थप कमजोर बन्ने देखिएको छ

1

Scroll to Top