Banijya News

विकट जिल्लामा १० प्रतिशतसँग मात्रै छ डिम्याट खाता, कुनमा कति ?

1
1.2K Shares

नेपालको सेयर बजार विस्तार अझै पनि भौगोलिक रुपमा असन्तुलनमा रहेको देखिएको छ । विकट तथा हिमाली जिल्लाहरुमा जनसंख्याको १० प्रतिशतभन्दा कमले मात्र डिम्याट खाता खोलेको तथ्यांकले सेयर बजारमा आम नागरिकको पहुँच निकै सीमित रहेको पुष्टि गरेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को तथ्यांक अनुसार देशका कम्तीमा ८ वटा जिल्लामा डिम्याट खाता खोल्ने जनसंख्या १० प्रतिशतभन्दा तल रहेको छ ।

सीडीएससीका अनुसार सबैभन्दा कम डिम्याट penetration रुकुम पश्चिममा देखिएको छ, जहाँ कुल जनसंख्याको ६.७४ प्रतिशतले मात्रै डिम्याट खाता खोलेका छन् । यस्तै, रुकुम पूर्वमा ७.२७ प्रतिशत, नवलपरासी पश्चिममा ७.३२ प्रतिशत, जाजरकोटमा ७.७४ प्रतिशत, रोल्पामा ७.९५ प्रतिशत, मुगुमा ८.३५ प्रतिशत, डोटीमा ९.२४ प्रतिशत र नवलपरासी पूर्वमा ९.२८ प्रतिशत जनसंख्याको मात्रै डिम्याट खाता रहेको छ ।

यसैगरी, ३५ वटा जिल्लामा जनसंख्याको २० प्रतिशतभन्दा कमको मात्रै डिम्याट खाता रहेको तथ्यांकले सेयर बजार अझै पनि सहर र केही सीमित जिल्लामा केन्द्रित रहेको देखाएको छ । तराईका बाक्लो जनसंख्या भएका जिल्लाहरु सर्लाही, धनुषा, महोत्तरी, रौतहट र कपिलवस्तुमा समेत डिम्याट penetration १५ प्रतिशत आसपासमै सीमित छ ।

कुन जिल्लामा कति ?

विशेषगरी हिमाली र विकट जिल्लामा सेयर बजारको पहुँच न्यून हुनुका पछाडि कमजोर भौतिक पूर्वाधार, बैंक तथा ब्रोकर संस्थाको न्यून उपस्थिति, इन्टरनेट तथा डिजिटल सेवाको अभाव र वित्तीय साक्षरताको कमी मुख्य कारणका रुपमा देखिएका छन् । धेरै स्थानमा सेयर बजार र डिम्याट खाताबारे आधारभूत जानकारीको अभाव हुँदा सर्वसाधारण अझै बैंक बचत वा परम्परागत लगानीमै सीमित छन् ।

यद्यपि, हाइड्रोपावर आयोजना सञ्चालन भएका केही जिल्लामा भने डिम्याट खाता खोल्नेको संख्या तुलनात्मक रुपमा बढी देखिएको छ । स्थानीय बासिन्दाहरु हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) भर्नका लागि भएपनि डिम्याट खाता खोल्ने भएकाले त्यस्ता जिल्लामा डिम्याट खाताको संख्या तीव्र रुपमा बढेको सीडीएससीको तथ्यांकले देखाएको छ ।

के हो डिम्याट खाता ?

डिम्याट खाता (Demat Account) भनेको सेयर, ऋणपत्र, म्युचुअल फन्डजस्ता धितोपत्रलाई कागजी प्रमाणपत्र बिना विद्युतीय (डिजिटल) रूपमा सुरक्षित राख्ने खाता हो । नेपालमा सेयर बजारमा लगानी गर्न, कम्पनीको प्राथमिक सेयर (आईपीओ) वा दोस्रो बजारबाट सेयर किन्न–बेच्नका लागि डिम्याट खाता अनिवार्य मानिन्छ । लगानीकर्ताले खरिद गरेका सेयर तथा अन्य धितोपत्रहरू यही खातामा डिजिटल रूपमा जम्मा हुन्छन् भने बिक्री गर्दा यही खाताबाट घटाइन्छ ।

नेपालमा डिम्याट खाता सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को प्रणाली अन्तर्गत बैंक तथा ब्रोकर संस्थामार्फत खोलिन्छ । डिम्याट खाता भएपछि लगानीकर्ताले अनलाइन प्रणाली प्रयोग गरेर सेयर आवेदन, कारोबार र होल्डिङको विवरण सजिलै हेर्न सक्छन् । कागजी सेयरको झन्झट हटाएर कारोबारलाई सुरक्षित, पारदर्शी र छरितो बनाउने उद्देश्यले डिम्याट प्रणाली लागू गरिएको हो । सेयर बजारलाई आधुनिक बनाउने र आम नागरिकलाई पूँजी बजारसँग जोड्ने महत्वपूर्ण माध्यमका रूपमा डिम्याट खातालाई लिइन्छ ।

1

Scroll to Top